डोटी पुगेर आलेले भने- ‘दीपायलमा राजधानी राख्न न्वारानदेखिको बल लगाए’

धनगढी – पूर्वमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता प्रेमबहादुर आले डोटीको दीपायलमा राजधानी राख्न आफूले न्वारानदेखिको बल लगाएको दाबी गरेका छन् । सोमबार गृहजिल्ला डोटी पुगेका आलेले पत्रकारहरुसँग कुरा गर्दै यस्तो दाबी गरेका हुन् ।

उनले आफूले २०७४ सालमा प्रतिनिधिसभा सदस्यमा डोटीबाट जित्ने वेला नै दिपायलमा राजधानी भएन भने सांसद पदबाट राजीनामा दिने बताएको दाबी गरे। तर राजीनामा गर्ने भने पनि नगरेको उनले बताए।

‘राजीनामा दिन्छु भनेर त्यो वेला नै भनेको थिएँ। म अहिले फेरि भन्न चाहन्छु, मैले कुन सन्दर्भमा भनेको थिएँ भन्दा जब हामी त्यो वेला निर्वाचित भयौं। निर्वाचित भइसकेपछि त्यो वेला हाम्रो पार्टीका अध्यक्ष हुनुहुन्थ्यो कमरेड केपी शर्मा ओली। नेकपाको बहुमत पनि आएको थियो र, मैले आफैं गएर बालकोटमा ओलीलाई भेटेर दीपायल भनेको सेन्टर पोइन्ट हो। सुदूरपश्चिमको केन्द्रबिन्दु हो। त्यहीँ राजधानी राख्नुपर्छ भनेर उहाँलाई भनेको थिएँ’, आलेले भने, ‘उहाँ (ओली) ले त्यहीअनुरुप मलाई हामी सरकारमा गएपछि हामी त्यो गर्नेछौं भनेर वचन पनि दिनुभएको थियो। त्यतिमात्र नभएर तत्कालीन नेकपाका नेता माधव कुमार नेपाल, प्रचण्ड जीलाई समेत भेटेर राजधानी दीपायलमा राख्नुपर्छ भनेर मैले भनेको थिएँ। उहाँहरू पनि सकरात्मक हुनुहुन्थ्यो। तर दुर्भाग्यवश नेकपाको सरकार नबन्दै अस्थायी राजधानी घोषणा भयो।’

आलेले अस्थायी राजधानी घोषणा गरिएपछि पनि आफूले प्रयास गरेको दाबी गरे। उनले नेताहरूलाई भेटेरै राजधानी सार्न आग्रह गरेको सुनाए।