खानेपानी मन्त्री उमाकान्त चौधरीले उपत्यकाको खानेपानी समस्याको दीर्घकालीनरुपमा समाधान गरिने बताएका छन् । महाङ्कालचौरमा आज भएको तेस्रो चरणको मेलम्ची खानेपानी पुनः वितरण कार्यक्रममा मन्त्री चौधरीले काठमाडौँमा अस्थायी रुपमा भए पनि १२ महिना नै पानी वितरण गर्ने दाबी गरे । “हामीले पटक–पटक पानी पुनः वितरण गर्नु नपरोस्, हामीले यसलाई दीर्घकालीन रुपमा समाधान गर्नेछौँ”, उनले भने ।
उनले विज्ञहरुको सल्लाह सुझाव लिएर विगतमा पानी बन्द गरिएको र अहिले बर्षात सकिएपछि पानी वितरण गरिएको बताए । वाग्मतीको पानी मेलम्चीको ट्रिटमेन्ट प्लान्टमा ल्याएर वितरण गरेको स्मरण गर्दै मन्त्री चौधरीले विकल्पको रुपमा याङ्ग्री, लार्के, सिस्नेरी, महादेव र ठोस्ने खोला निरीक्षण गरेर मेलम्चीको विकल्पको रुपमा पानी खान सकिने धारणा राखेका थिए । त्यसका लागि आफ्नै कार्यकालमा यसको काम अगाडि बढ्ने उनको भनाइ थियो ।










