एमालेले भन्यो– प्रधानमन्त्रीज्यू, राजीनामा दिएर मार्गप्रशस्त गर्नूस्

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेको छ ।

नेकपा एमालेको सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न आह्वान गर्ने निर्णय गरेको नेता प्रदिप ज्ञवालीले जानकारी दिए ।

‘यो राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयोजनका लागि प्रधानमन्त्रीज्यूलाई मार्गप्रशस्त गर्न आह्वान गर्ने निर्णय भएको छ,’ उनले भने ।

त्यस्तै, नेपाली कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउने कुरालाई समर्थन गर्ने निर्णय पनि एमालेले गरेको छ।

‘नेपाली कांग्रेस र नेकपा एमालेको बीचमा हिजोमात्रै भएको समझदारी जुन छ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सरकार बनाउने कुरालाई समर्थन गर्ने,’ ज्ञवालीले भने ।

त्यसैगरी राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन सबै दलहरूलाई आह्वान गर्ने निर्णय पनि एमालेले गरेको छ।