काठमाडौंको दोस्रो जित, लुम्बिनीको प्लेअफ सम्भावना सकियो

Image

नेपाल प्रिमियर लिग(एनपीएल)मा दशौं दिनको दोस्रो खेलमा काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई १८ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीलाई हराएसँगै काठमाडौंले दोस्रो जित निकालेको हो । आजको खेलमा हार बेहोरेसँगै लुम्बिनीको भने प्लेअफ सम्भावना सकिएको छ । 

काठमाडौंले दिएको १०४ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.२ ओभरमा अलआउट हुँदै ८५ रन मात्रै बनाउन सक्यो ।

लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक २६ रन बनाए। उनले २८ बलमा २ चौका प्रहार गरेका हुन्। जोराले आठौं विकेटका लागि सुर्य तामाङसँग ३२ रनको साझेदारी बनाए पनि त्यो जितका लागि पर्याप्त भएन । 

लुम्बिनीका लागि उन्मुक्त चन्दले १४ रन बनाए । उनले १९ बलमा १ चौका प्रहार गरेका हुन् । सुर्य तामाङले ११ रन बनाए । लुम्बिनीले पावरप्लेमा ३ विकेटको क्षतिमा १६ रन बनाएको हो । 

ओपनरद्वय आशुतोष घिरौया ४ रन र अर्जुन साउद ३ रनमा समेटिँदा तेस्रो विकेट टम मोरिसको गयो । चौथो विकेट कप्तान रोहितको विकेट गयो। उनलाई दिपेश कँडेलले एलबीडब्ल्यु आउट गराए । उनले उन्मुक्त चन्दसँग २३ रनको सझेदारी गरे । रोहितले १५ बलमा ८ रन बनाउँदै आउट भए । 

पाँचौं विकेट उन्मुक्त चन्दको रुपमा लुम्बिनीले गुमायो । छैटौं विकेट साद बिन जफरलाई डक आउट हुँदै गुमाए। सातौं विकेट विवेक यादवको गयो । अन्तिम विकेटका रुपमा अभिशेष गौतम रासिद खानको बलमा एलबीडब्ल्यु आउट भए। सुर्य तामाङ ११ रनमा अविजित रहे । 

काठमाडौंका लागि कप्तान करण केसीले ४ विकेट लिए ।  दिपेश कँडेलले ३ र गेरहार्ड इरास्मसले २ विकेट लिए  भने रासिद खानले १ विकेट लिए । 

त्यसअघि, टस जितेर ब्याटिङ काठमाडौं गुर्खाज १९.२ ओभरमा १०३ रन बनाउँदै अलआउट भएको हो । गुर्खाजका लागि तेस्रो क्रममा आएका भिम सार्कीले सर्वाधिक ३१ रन बनाए । उनले ३९ बलमा १ चौका प्रहार गर्दै अर्जुन साउदबाट स्टम्पिङ आउट भए । गुर्खाजले पावरप्लेमा ४ विकेट गुमाउँदै २३ रन बनाएको थियो । 

पाँचौं विकेटका लागि डान डाउथवेटले भिमसँग ४२ रनको साझेदारी गर्दै काठमाडौंको क्रिज सम्हालेका थिए । उनलाई १२.६ ओभरमा विवेक यादवले कप्तान रोहितको हातमा क्याच गराए। उनले २४ बलमा २ छक्कासहित २१ रन जोडे । 

१३.४ मा काठमाडौंले पुन अर्को विकेट गुमायो । रासिद खान खाता नै नखोली रन आउट भए । काठमाडौं गुर्खाजले १५ ओभरमा ६ विकेट गुमाउँदै ७३ रन बनाएको हो ।
सातौं विकेट कप्तान करण केसीको गयो । उनलाई १५.२ ओभरमा सुर्य तामाङले खाता खोल्नेबित्तिकै टियू कर्नरको बाउन्ड्रीमा क्याच गराए । अन्तिम विकेटका रुपमा प्रतिक श्रेष्ठ २० रन बनाउँदै बोल्ड आउट भए । 

लुम्बिनीका लागि साद बिन जफरले ३ विकेट लिए ।  रेमोन्ड सिमोन र अभिषेश गौतमले समान २÷२ विकेट लिए। सुर्य तामाङ र विवेक यादवले  १/१ विकेट लिए ।       
काठमाडौं गुर्खाजको यो चौथो खेल हो । अगाडीको ३ खेलमा पहिलो खेलमा चितवनसँग ५ विकेटले हारेको काठमाडौंले दोस्रो खेलमा भने कर्णालीलाई ३ विकेटले हराएको हो । तेस्रो खेलमा पुन सुदुरपश्चिम रोयल्ससँग ७३ रनको हार बेहोरेको हो । 

लुम्बिनीको भने यो छैटौं खेल हो। पहिलो ४ खेलमा लगातार हार बेहोरेको लुम्बिनीले पाँचौं खेलमा भने चितवन राइनोजलाई ३३ रनले हराएको हो। आजको पहिलो खेलमा सुदुरपश्चिम रोयल्सले जनकपुर रोयल्सलाई ७२ रनले हराएको थियो । ११ औं दिन पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीच हुनेछ। दोस्रो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजसँग खेल्नेछ ।