सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा फेसबुकसहितका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्नसक्ने बताएका छन् ।
शुक्रबार काठमाडौँमा सञ्चारिका समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपालमा सञ्चालन भएका फेसबुकलगायत सामाजिक सञ्जालका सञ्चालकहरुले दर्ता गर्ने समयसीमा सकिँनलाग्दासमेत दर्ता नगरेको बताए ।
नेपालको संविधान, ऐन तथा कानूनअनुसार तोकिएको समयमा दर्ता नभए त्यस्ता सामाजिक सञ्जालहरुमाथि प्रतिबन्ध लगाउन सकिने उनको भनाइ छ। उनले देशको स्वाभिमान बिथोल्ने गरी सामाजिक सञ्जालमा विभिन्न प्रचारप्रसार हुने गरेको भन्दै त्यसको नियमन हुनुपर्ने बताए ।
फेक आइडी बनाएर समाजमा विकृति निम्त्याउने तथा हिंसाको प्रवर्द्धन हुने गरी सामाजिक सञ्जालमा प्रचार हुने गरेको उनको भनाइ थियो । सामाजिक सञ्जालहरु नेपालमा दर्ता नभएकै कारण सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक रोकिएको उनको भनाइ छ ।
उनले भने, ‘पहिला पनि हामीले तीन महिनाको सूचना जारी गरेको दर्ता गर्न आउ भनेर । अहिले एक महिनाको सूचनाको दुई तीन दिन बाँकी छ कोही आउँदैन । मेटा जसले फेसबुक चलाउँछ मेसेन्जर चलाउँछ, ह्वाट्सएप चलाउँछ, इन्स्टाग्राम चलाउँछ दर्ता गर्न किन आउँदैन ? सरकारलाई नै टेर्दैन उसले नेपाललाई नै टेर्दैन ।’















