बलियो हुँदै नेपाली मुद्रा

अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा बलियो हुँदै गएको पाइएको छ । पछिल्ला दिनहरूमा डलरको भाउ अवमूल्यन हुँदै गएको छ, फलस्वरूप डलरको तुलनामा नेपाली मुद्रा बलियो भएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो ६ दिनमा मात्र डलरको मूल्य करीब २ रुपैयाँले घटेको छ । गत बिहीवार एक डलरको खरीद मूल्य ११९ रुपैयाँ १० पैसा थियो, त्यो आज (बुधवार) सम्म आउँदा १ रुपैयाँ ९९ पैसाले घटेर ११७ रुपैयाँ ११ पैसामा कायम भएको छ ।

बिहीवारका लागि डलरको खरीद दर भने ११६ रुपैयाँ ५१ पैसा तोकिएको छ । मंगलवार डलरको विक्री मूल्य ११७ रुपैयाँ ५२ पैसा र खरीद मूल्य ११६ रुपैयाँ ९२ पैसा रहेको थियो । नेपाली रुपैयाँ पछिल्लो २ महीनायताकै बलियो भएको देखिएको छ ।

डलरको तुलनामा भारतीय रुपया (भारू) बलियो हुँदा नेपाली रुपैयाँ पनि बलियो भएको हो । नेपाली रुपैयाँको विनिमय दर भारूसँग आबद्ध पेग्ड गरिएको छ । त्यसले गर्दा भारू बलियो हुँदा नेपाली मुद्रा पनि बलियो भई डलरको मूल्य घट्छ । त्यसैगरी भारू कमजोर हुँदा नेपाली रुपया स्वतः कमजोर भई डलरको मूल्य बढ्ने हुन्छ । मंगलवार डलरको मूल्य ९० दशमवल ७० भारू रहेको थियो ।

भारतीय शेयरबजारमा वृद्धि र डलरको अरू मुद्रासँग दर घटेर यस्तो भएको बताइएको छ । साथै, गत शुक्रवार अमेरिकी केन्द्रीय बैंक प्रणालीका अध्यक्ष जेरमी पोवेलले ब्याजदर कमै राख्ने संकेत दिएका छन् । त्यसका कारण पनि भारतीय मुद्रा बलियो भएको बताइएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार