आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिज अन्तर्गत आज नेपाल र अमेरिकाबिच खेल हुदैछ । आइसीसी एकेडेमीमा हुने यो खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुदैछ ।
यस सिरिजमा नेपालले सुरुका दुई खेलमा हार बेहोरेको छ । नेपाल अमेरिकासँगको पहिलो खेल १०६ रनले पराजित भएको थियो भने दोस्रो खेलमा युएईसँग ५ विकेटले पराजित भएको थियो । त्यस्तै अमेरिकाले भने नेपाल र युएईसँग जित हासिल गरेको छ ।
आइसीसीको एकदिवसीय वरियतामा नेपाल हाल १७औँ स्थानमा छ भने अमेरिका १४औँ स्थानमा रहेको छ । एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल र अमेरिका हालसम्म १० पटक आमने सामने भएका छन् । जसमा अमेरिकाले ५ र नेपालले ४ खेल जितेको छ । त्यस्तै एक खेल टाई भएको थियो ।
हालसम्म आइसीसी क्रिकेट विश्वकप लिग २ को अङ्क तालिकामा अमेरिका २२ खेल खेल्दै ३२ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । त्यसै गरी नेपालले भने अहिलेसम्म खेलेका १८ खेलमा केवल ५ खेल जितेको छ भने २ खेलमा अङ्क बाँडेको छ । त्यस्तै ११ खेलमा हार बेहोरेको छ ।
यस सिरिजका लागि छानिएको नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), असिफ सेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, अनिल कुमार शाह, सोमपाल कामी, आरिफ सेख, भीम सार्की, करण केसी, गुलशन झा, साहब आलम, नन्दन यादव, कुशल मल्ल र ललित राजवंशी रहेका छन् ।
अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म अमेरिका र युएईसँग हुने यस त्रिकोणात्मक सिरिजमा अक्टोबर २६ आइतबार नेपाल र अमेरिका, अक्टोबर २८ मंगलबार युएई र अमेरिका, अक्टोबर ३० बिहीबार नेपाल र युएई, नोभेम्बर १ शनिवार नेपाल र अमेरिका, नोभेम्बर ३ सोमबार युएई र अमेरिका र नोभेम्बर ६ बुधवार नेपाल र युएई खेल्ने तालिका रहेको छ ।













