अस्ट्रेलियाले आइसीसी पुरुष टी–२० क्रिकेट विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ। मिच मार्शको कप्तानीमा अस्ट्रेलियाली क्रिकेट बोर्डले टोली सार्वजनिक गरेको हो।
घोषित टोलीमा टेस्ट कप्तान पाट कमिन्स, अनुभवी ब्याटर स्टिभ स्मिथ र माथ्यु शर्टलाई समेटिएको छैन। कमिन्स चोटका कारण विश्वकपबाट बाहिरिएको अस्ट्रेलियाली क्रिकेट बोर्डले जनाएको छ।
घोषित अस्ट्रेलियाली टोलीमा मिच मार्श (कप्तान), जेभियर बार्टलेट, कूपर कोनोली, बेन द्वारशुइस, क्यामरुन ग्रिन, ट्राभिस हेड, जोश इङ्गलिस, म्याथ्यू कुन्नेम्यान, म्याथ्यू रेन्शा, मार्कस स्टोइनिस, एडम जाम्पा, जोश हजेलवूड, ग्लेन म्याक्सवेल, टिम डेभिड र नाथन एलिस रहेका छन्।
आइसीसी पुरुष टी–२० विश्वकप फेब्रुअरी ७ देखि सुरु हुँदैछ। प्रतियोगितामा नेपालसहित विश्वभरका २० राष्ट्रको सहभागिता रहने छ।
विश्वकपको समूह ‘ए’ मा आयोजक राष्ट्र भारत र पाकिस्तानसहित संयुक्त राज्य अमेरिका, नेदरल्यान्ड्स र नामिबिया रहेका छन्। समूह ‘बी’ मा आयोजक श्रीलंका, अस्ट्रेलिया, आयरल्याण्ड, जिम्बाब्वे र ओमान छन्। त्यसैगरी समूह ‘सी’ मा नेपाल, वेस्ट इन्डिज, स्कटल्याण्ड, इटाली र इङ्ग्ल्यान्ड रहेका छन्। समूह ‘डी’ मा न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानडा र युएई समावेश छन्।
अस्ट्रेलियाले विश्वकपमा आफ्नो पहिलो खेल फेब्रुअरी ११ मा आयरल्याण्डविरुद्ध खेल्ने तालिका रहेको छ।















