आईसीसी ट्वान्टी–२० क्रिकेट विश्वकपअन्तर्गत दोस्रो वार्मअप खेलमा क्यानडाले नेपालसामु १६२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।
बिहीबार भारतको चेन्नाईमा टस जितेर ब्याटिङ रोजेको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रन बनायो।
क्यानडाका ओपनर नम्नीत धलीवालले सर्वाधिक ४१ रनको योगदान दिए। उनले ३६ बलमा एक चौका र तीन छक्का प्रहार गरे। अविजित रहेका श्रेयस मोभाले १९ बलमा दुई चौका र तीन छक्कासहित ३८ रन जोडे।
तेस्रो नम्बरमा ब्याटिङ गरेका कनवरपाल तथगुरले २४ बलमा २५ रन बनाए भने शिभम शर्माले २१ रनको योगदान दिए। निकोलास किर्टान १० रनमा सीमित भए।
नेपालका बलरमध्ये कुशल भुर्तेल र सन्दीप लामिछानेले समान दुई–दुई विकेट लिए। सोमपाल कामी र नन्दन यादवले एक–एक विकेट झारे।
यो नेपालका लागि दोस्रो वार्मअप खेल हो। यसअघि नेपालले पहिलो वार्मअप खेलमा युएईलाई सात विकेटले पराजित गरेको थियो।
नेपालले विश्वकप अभियान फेब्रुअरी ८ मा इंग्ल्यान्डविरुद्धको खेलबाट सुरु गर्नेछ।















