आईसीसी टी–२० विश्वकप: न्यूजिल्याण्डले अफगानिस्तानलाई ५ विकेटले हरायो

Image

आईसीसी टी–२० विश्वकप अन्तर्गत आइतबार न्यूजिल्याण्डले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ। भारतको चेन्नईस्थित एम. ए. चिदम्बरम स्टेडियममा भएको खेलमा अफगानिस्तानले दिएको १८३ रनको लक्ष्य न्यूजिल्याण्डले १३ बलअघि ५ विकेट गुमाएर पूरा गर्यो।

न्यूजिल्याण्डका विकेटकिपर–ब्याट्सम्यान टिम सेइफेर्टले सर्वाधिक ६५ रन बनाए। उनले ४२ बल खेल्दै ७ चौका र ३ छक्का प्रहार गरे। त्यसैगरी, ग्लेन फिलिप्सले २५ बलमा ४२ रन जोड्दै टीमको जितमा महत्वपूर्ण योगदान पुर्‍याए। उनले ७ चौका र १ छक्का प्रहार गरेका थिए।

अफगानिस्तानका मुजिब उर रहमानले दुई विकेट लिए भने मोहम्मद नबी, रशिद खान र अज्मतुल्लाह ओमरजाइले समान एक–एक विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८२ रन बनाएको थियो। अफगानिस्तानका लागि गुलबदिन नाइबले सर्वाधिक ६३ रन बनाए। ३५ बल खेलेका उनले ३ चौका र ४ छक्का प्रहार गरे। त्यस्तै, सेदिकुल्लाह अटलले २४ बलमा २९ र रहमतुल्लाह गुर्बजले २२ बलमा २७ रन बनाए।

बलिङतर्फ न्यूजिल्याण्डका लोकी फर्गुसनले दुई विकेट लिए भने म्याट हेनरी, ज्याकब डफी र रचिन रवीन्द्रले समान एक–एक विकेट लिए।

न्यूजिल्याण्डको जितसँगै समूह चरणको तालिकामा उनीहरूको स्थितिलाई थप सुदृढ गर्ने सम्भावना बढेको छ।