सेयर बजारमा हरियाली, नेप्से दोहोरो अंकले उकालो

Image

धितोपत्र दोस्रो बजार मापक नेपाल स्टक एक्सचेन्च (नेप्से) बिहीबार दोहोरो अंकले बढेको छ।

बिहीबार (चैत २६) नेप्से परिसूचक ४८.७१ अंक अर्थात् १.७३ प्रतिशतले बढेर २८५१.२४ विन्दुमा बन्द भएको हो। पछिल्ला दिनमा देखिएको उतारचढावबीच आजको उल्लेखनीय वृद्धिले बजारमा सकारात्मक संकेत देखिएको छ।

नेप्सेका अनुसार, आज दुई करोड ७९ लाखभन्दा बढी कित्ता सेयर खरिदबिक्री हुँदा नौ अर्ब ९१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। अघिल्लो कारोबार दिन भने आठ अर्ब ३१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो। यसले बजारमा लगानीकर्ताको सक्रियता थप बढेको देखाएको छ।

कुल ३३८ कम्पनीको सेयर कारोबार भएकामा २५१ कम्पनीको शेयर मूल्य बढेको छ भने १६ कम्पनीको मूल्य घटेको छ। एक कम्पनीको मूल्यमा भने कुनै परिवर्तन देखिएन।

आज ६ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। जसमा आत्मनिर्भर लघुवित्त, रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिजलाइन इनर्जी, सोलु हाइड्रोपावर र होटेल फरेस्ट इन रहेका छन्।

यस्तै, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रो का शेयर पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्।

समूहगत सूचकतर्फ सबै समूहमा हरियाली छाएको छ। सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह २८९ अंकले बढेको छ भने सबैभन्दा कम बैंकिङ समूह १८.२७ अंकले वृद्धि भएको छ।