एसी मिलान इटालियन सिरी ‘ए’ अन्तर्गत शनिबार आफ्नै घरेलु मैदान सान सिएरोमा युडिनेजसँग ३–० ले पराजित भएको छ।
युडिनेजको जितमा जुर्गेन एक्केलेनक्याम्प र आर्थर अट्टाले समान एक–एक गोल गरे भने एक गोल आत्मघाती रूपमा प्राप्त भएको थियो।
खेलको २८औँ मिनेटमा मिलानका रक्षक डेभिड बार्टेसाघीबाट आत्मघाती गोल हुन पुगेपछि युडिनेजले अग्रता लिएको थियो। त्यसको १० मिनेटपछि एक्केलेनक्याम्पले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।
७२औँ मिनेटमा आर्थर अट्टाले अर्को गोल थप्दै युडिनेजलाई सहज जित दिलाए।
यस जितसँगै युडिनेजले ३२ खेलमा ४३ अंक जोड्दै तालिकाको १०औँ स्थानमा उक्लिएको छ। पराजित मिलान भने समान खेलबाट ६३ अंकका साथ तेस्रो स्थानमा कायम छ।













