अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको शान्ति वार्ता असफल भएपछि स्ट्रेट अफ हर्मुजमा कडा सैन्य कदमको घोषणा गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अमेरिकी नौसेनाले तत्कालै उक्त जलमार्गमा आवतजावत गर्ने जहाजहरूलाई अवरोध गर्न सुरु गर्ने बताएका हुन् ।
उनले “विश्वकै उत्कृष्ट” अमेरिकी नौसेना अब हर्मुज हुँदै प्रवेश गर्ने वा बाहिरिने सबै जहाजमाथि निगरानी र नियन्त्रण गर्ने बताएका छन् । उनका अनुसार, इरानलाई शुल्क तिरेर आवतजावत गरेका जहाजहरूलाई पनि अन्तर्राष्ट्रिय जलक्षेत्रमै रोकेर जाँच गरिनेछ । “कसैले पनि गैरकानुनी शुल्क तिरेर सुरक्षित रूपमा समुद्री मार्ग प्रयोग गर्न पाउने छैन,” ट्रम्पले चेतावनी दिएका छन्।
त्यस्तै, उनले हर्मुज जलमार्गमा इरानले राखेको भनिएको समुद्री माइन्स हटाउने र आवश्यक परे नष्ट गर्ने कार्य पनि सुरु गरिने बताएका छन्। अमेरिकी वा “शान्तिपूर्ण जहाज” माथि आक्रमण भए कडा जवाफ दिने चेतावनीसमेत उनले दिएका छन् । यसअघि संयुक्त राज्य अमेरिका र इरानबीच पाकिस्तानमा भएको लामो वार्ता बिना निष्कर्ष टुंगिएको थियो ।
वार्तामा प्रमुख सर्तकै रूपमा हर्मुज जलमार्गलाई स्वतन्त्र रूपमा सञ्चालन गर्न दिनुपर्ने माग अमेरिकाले राखेको थियो। करिब २१ घण्टा लामो वार्तामा दुवै पक्षबीच महत्वपूर्ण मतभेद कायम रहँदा कुनै सम्झौता हुन सकेन । अमेरिकी पक्षले यसलाई “गम्भीर तर निष्कर्षविहीन” वार्ता भनेको छ भने इरानले अमेरिकामाथि “अत्यधिक माग” राखेको आरोप लगाएको छ ।
विश्वको झण्डै २० प्रतिशत तेल आपूर्ति हुने यो जलमार्गमा तनाव बढ्दा अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा आपूर्तिमा गम्भीर असर पर्न सक्नेछ ।















