नेपाल–यूएई टी–२० सिरिज आजबाट सुरु, दीपेन्द्रसिंह ऐरीको कप्तानीमा घरेलु मैदानमा पहिलो खेल

Image

नेपाल राष्ट्रिय क्रिकेट टोलीले आज चिरपरिचित प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स राष्ट्रिय क्रिकेट टोलीसँग दुई खेलको टी–२० सिरिजअन्तर्गत पहिलो खेल खेल्दैछ। खेल अपराह्न ५ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।

नेपाल र यूएई साढे दुई वर्षपछि कीर्तिपुरमा आमनेसामने हुन लागेका हुन्। घरेलु मैदानमा हुने यस खेलप्रति क्रिकेट समर्थकहरू उत्साहित देखिएका छन्।

नियमित कप्तान रोहित पौडेलको अनुपस्थितिमा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले नेपाली टोलीको नेतृत्व सम्हाल्दै छन्। युवा खेलाडीको बाहुल्यता रहेको टोलीले टी–२० क्रिकेटमा नयाँ सुरुवात गर्ने लक्ष्य लिएको छ।

टिममा कप्तान ऐरीसँगै कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ सेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्ल रहेका छन्। वैकल्पिक खेलाडीमा प्रतिस जीसी, नारायण जोशी र रसिद खान समावेश छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले रात्रिकालीन खेलका लागि खल्ती एपमार्फत टिकट काट्ने व्यवस्था मिलाएको जनाएको छ। सिरिजको दोस्रो खेल भोलि हुने तालिका छ।