विश्वकपअघि पहेँलो कार्ड नियम परिवर्तनको तयारी, सेमिफाइनल गुम्ने जोखिम घटाउने फिफाको योजना

Image

आगामी महिना हुने फिफा विश्वकप अघि पहेँलो कार्डसम्बन्धी नियममा महत्वपूर्ण परिवर्तन गर्ने तयारी गरिएको छ। खेलाडीहरूले सामान्य गल्तीका कारण महत्वपूर्ण खेल गुमाउनुपर्ने अवस्था कम गर्न फिफाले नयाँ व्यवस्था ल्याउन लागेको हो।

हालको नियमअनुसार समूह चरणमा एक र त्यसपछि नकआउट चरणमा अर्को पहेँलो कार्ड पाएमा खेलाडीले सेमिफाइनल जस्तो महत्वपूर्ण खेल गुमाउनुपर्ने अवस्था रहँदै आएको छ। तर नयाँ प्रस्तावित व्यवस्थाअनुसार पहेँलो कार्ड दुई पटक ‘रिसेट’ गरिनेछ।

फिफाको योजनाअनुसार समूह चरण सकिएपछि सबै पहेँलो कार्डहरू शून्य गरिनेछ। त्यसैगरी क्वार्टरफाइनलपछि पनि कार्डहरू पुनः शून्य गरिने व्यवस्था हुनेछ। यसले खेलाडीहरूलाई सेमिफाइनल र फाइनलमा प्रतिबन्धको जोखिमबाट जोगाउने अपेक्षा गरिएको छ।

आगामी विश्वकपमा ३२ को सट्टा ४८ टोली सहभागी हुने भएकाले खेलको संख्या पनि उल्लेख्य रूपमा बढ्नेछ। बढी खेल हुँदा खेलाडीहरूले दुई पहेँलो कार्ड पाउने सम्भावना बढ्ने भएकाले महत्वपूर्ण खेल गुम्ने जोखिम पनि बढ्नेछ। यही अवस्थालाई ध्यानमा राख्दै नयाँ नियम ल्याउन लागिएको फिफाले जनाएको छ।

यद्यपि, दुई पहेँलो कार्ड पाएमा एक खेलको प्रतिबन्ध लाग्ने नियम भने यथावत् रहनेछ। तर त्यो प्रतिबन्ध लागू हुन कार्डहरू निश्चित चरणभित्रै पाएको हुनुपर्नेछ। उदाहरणका लागि, समूह चरणका खेलहरूमा दुई पहेँलो कार्ड पाएमा खेलाडीले अर्को खेल गुमाउनेछ, तर एक मात्र कार्ड भएमा समूह चरणपछि स्वतः हट्नेछ।

नकआउट चरण (राउन्ड अफ ३२, १६ र क्वार्टरफाइनल) मा पनि फेरि दुई पहेँलो कार्ड पाएमा मात्र प्रतिबन्ध लाग्ने व्यवस्था रहनेछ।

यो प्रस्तावबारे औपचारिक छलफल तथा निर्णय क्यानडाको भ्यानकुभरमा मंगलबार बस्ने फिफा काउन्सिलको बैठकमा हुने बताइएको छ।