अस्ट्रेलियामा बालबालिकालाई थप्पड हानेको आरोपमा नेपाली युवा पक्राउ

Image

अष्ट्रेलियाको सिड्नीस्थित एक बाल हेरचाह केन्द्रमा कार्यरत नेपाली युवा जयन्द्रजंग शाही बालबालिकामाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्। दक्षिण–पश्चिम सिड्नीको एक मन्टेश्वरी केन्द्रमा काम गर्ने २४ वर्षीय शाहीलाई प्रहरीले अप्रिल २६ मा पहिलो पटक नियन्त्रणमा लिएको थियो भने दोस्रो पटक घटना दोहोरिएपछि पुनः पक्राउ गरिएको हो।

प्रहरीका अनुसार सीसीटीभी फुटेजमा शाहीले दिउँसो करिब १ बजे सुतिरहेका ३ र ४ वर्षका दुई बालकलाई थप्पड हानेको दृश्य देखिएको छ। यसअघि पनि उनीमाथि यस्तै प्रकृतिको दुर्व्यवहारको आरोप लागेको थियो। दश दिनभित्रै दोहोरिएको घटनाले विषयलाई थप गम्भीर बनाएको छ।

अर्ली चाइल्डहुड एजुकेसनमा डिप्लोमा गरेका शाही केही समयदेखि उक्त केन्द्रमा कार्यरत थिए। सेभेन न्यूज डटकमका अनुसार उनीविरुद्ध सामान्य कुटपिटसम्बन्धी अभियोगमा अनुसन्धान भइरहेको छ।

मामिलाको सुनुवाइका क्रममा न्यायाधीश अमान्डा कोल्टास–रोर्बर्ट्सले बालबालिकामाथि गरिएको व्यवहारलाई अत्यन्त गम्भीर भन्दै शाहीलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेकी छन्। हाल उनी प्रहरी हिरासतमा रहेका छन्।

अदालतमा शाहीले आफू सात वर्षदेखि अष्ट्रेलियामा बस्दै आएको र स्थायी बसोबास (पीआर) प्रक्रियामा रहेको बताएका छन्। उनकी श्रीमतीले पारिवारिक समस्याका कारण उनको मानसिक स्वास्थ्य अवस्था कमजोर रहेको दाबी गरेकी छिन्। बचाउ पक्षका वकिल जेम्स मुरले पनि उनलाई मानसिक स्वास्थ्य उपचारको आवश्यकता रहेको बताएका छन्।

हाल प्रहरी हिरासतमा रहेका शाहीलाई मे ५ मा पुनः अदालतमा पेश गरिने भएको छ। उनको स्थायी ठेगाना मुगुको छायाँनाथ नगरपालिका रहेको छ।