स्कटल्यान्डले नेपाललाई २४४ रनको लक्ष्य दियो, जर्ज मुन्सीको अर्धशतक

Image

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी एकदिवसीय श्रृंखलाको पहिलो खेलमा स्कटल्यान्डले नेपाललाई २४४ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २४३ रन बनायो ।

स्कटल्यान्डका लागि ओपनर जर्ज मुन्सीले अर्धशतक प्रहार गर्दै टोलीलाई बलियो सुरुआत दिलाए । उनले ६२ बलमा ७५ रन बनाउँदै १२ चौका र २ छक्का प्रहार गरे । फिन्ले म्याककिएथले ३५ रनको योगदान दिए भने माइकल इंग्लिस ३४ रनमा अविजित रहे । त्यस्तै माइकल लिस्कले २९, मार्क वाटले २४ र म्याथ्यु क्रसले १८ रन बनाए ।

पहिलो विकेटका लागि मुन्सी र म्याककिएथबीच ११४ रनको शतकीय साझेदारी भएको थियो । सो साझेदारी नेपालका सन्दीप लामिछानेले तोडेका थिए ।

नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए । उनले १० ओभरमा १ मेडनसहित ४१ रन खर्चिए । त्यस्तै करण केसी र नन्दन यादवले समान २–२ विकेट हात पारे ।