आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपालले स्कटल्याण्डसँग खेल्दैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुनेछ ।
नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृङ्खलामा हालसम्म तीन खेल सकिएका छन् । जसमध्ये स्कटल्याण्डले दुवै खेल जितेको छ । स्कटल्याण्डले पहिलो खेलमा नेपाललाई डकवर्थ लिइस (डीएलएस) नियमका आधारमा दुई रनले पराजित गरेको थियो भने अर्को खेलमा पनि स्कटल्याण्डले अमेरिकालाई सोही नियमका आधारमा दुई रनले नै पराजित गरेको थियो ।
तेस्रो खेल नेपाल र अमेरिकाबीच भएको थियो । गत शनिबार सम्पन्न उक्त खेलमा नेपालले अमेरिकालाई नौ विकेटले पराजित गरेको थियो । आजको खेलमा नेपाल स्कटल्याण्डलाई पराजित गर्दै विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुने सम्भावनालाई जीवितै राख्न चाहन्छ ।
आईसीसी क्रिकेट विश्वकप लिग-२ को अङ्क तालिकामा नेपाल सातौँ स्थानमा छ । नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन अब बाँकी सबै १० वटा खेल जित्नुपर्छ भने एकदिवसीय मान्यता जोगाउन शीर्ष छ स्थानमा रहन आवश्यक छ । त्यसैले आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ ।
नेपाल अहिले २६ खेलपछि नौमा जित, १५ मा हार र दुई खेलमा अनिर्णित हुँदै २० अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ । साथै स्कटल्याण्ड पहिलो स्थानमा छ । स्कटल्याण्डले ३० खेलमध्ये १६ मा जित, आठमा हार र छ वटा खेल अनिर्णित हुँदा कूल ३८ अङ्क जोडेको छ ।
















