प्रतिनिधिसभा बैठक आज बस्दै, निर्वाचन र वित्तसम्बन्धी विधेयकमाथि छलफल हुदैँ

Image

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । संसद सचिवालयका अनुसार बैठक बिहान ११ बजे सिंहदरबारस्थित संघीय संसद भवनमा बस्नेछ ।

आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह को तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम ले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक–२०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै, मन्त्री गौतमले मतदाता नामावली (पहिलो संशोधन) विधेयक–२०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि सदनमा पेश गर्नेछिन् । त्यसपछि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक–२०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका रहेको संसद सचिवालयले जनाएको छ ।

त्यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले वैकल्पिक विकास वित्त परिचालन विधेयक–२०८२ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । उक्त विधेयकमाथि प्राप्त संशोधन प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची पनि रहेको छ ।

बैठकमा अर्थमन्त्री डा. वाग्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयक–२०८२ लाई पारित गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।