राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबीच गत पुसमा भएको एकीकरण कार्य अलपत्र परेको छ। एकीकरण भएको करिब पाँच महिना बितिसक्दा पनि संगठनात्मक समायोजन प्रक्रिया अघि नबढेको भन्दै तत्कालीन राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा नेतृत्वको ध्यानाकर्षण गराएका छन्।
थापाले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार स्थानीय तहदेखि केन्द्रसम्मको संरचनागत समायोजन हुन नसकेको मात्र होइन, भातृ संगठनहरूको एकीकरण पनि अझै टुंगोमा पुग्न सकेको छैन।
उनका अनुसार, निर्वाचन आयोगमा पार्टी एकताको औपचारिक पत्रसमेत पठाउन नसकिएको अवस्था रहेको छ, जसका कारण दुवै पार्टीका कार्यकर्ताहरूमा अन्योल र अनिश्चितता बढेको छ।
थापाले भनेका छन्, “बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्देश्यसहित गरिएको एकीकरण अधुरै छ। संगठनात्मक समायोजन नहुँदा कार्यकर्तामा भ्रम सिर्जना भएको छ।”
उनले वर्तमान राजनीतिक परिस्थितिमा संघीय धर्मनिरपेक्ष गणतन्त्रको विकल्पमा हिन्दु राष्ट्र र राजसंस्थासहितको वैकल्पिक राष्ट्रवादी शक्तिको आवश्यकता झन् बढ्दै गएको उल्लेख गर्दै एकीकृत पार्टीलाई अवधारणाअनुसार तत्काल सबै तहमा समायोजन गर्न आग्रह गरेका छन्।
















