मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग लिङ्देनको आग्रह

Image

प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजान सरकारसँग आग्रह गरेका छन्।पार्टी स्थापना भएको ३६ वर्ष पूरा भएको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन्।अध्यक्ष लिङ्देनले मानव अधिकार आयोगले दोषी करार गरेका व्यक्तिहरूले तत्काल सफाइका लागि प्रक्रिया अघि बढाउनुपर्नेमा पनि जोड दिए।

“मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ। यो अत्यन्तै महत्वपूर्ण छ। यसले धेरै कुरा उजागर गरेको छ। यसलाई कार्यान्वयन गर्ने दिशातर्फ सरकार अग्रसर हुनुपर्छ। आयोगले दोषी ठहर गरेका व्यक्तिहरूले पनि प्रक्रिया पूरा गरेर छिटोभन्दा छिटो सफाइ लिनुपर्छ। यो गम्भीर विषय हो, किनभने यो केवल नेपालमा मात्रै सीमित रहने विषय होइन,” उनले भने।

मानव अधिकार आयोगको सो प्रतिवेदन नेपालमा मात्रै सीमित नभई संयुक्त राष्ट्रसंघ र त्यसमा आवद्ध अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी संघ–संस्थाहरूको रेकर्डमा पनि रहने भएकाले दोषी देखिएकाहरूले सफाइका लागि आवश्यक कदम ढिलाइ नगरी अघि बढाउनुपर्ने अध्यक्ष लिङ्देनको भनाइ छ।उनले उक्त प्रतिवेदनले धेरै विषय उजागर गरेको उल्लेख गर्दै सरकारले तत्काल त्यसको कार्यान्वयनतर्फ अग्रसरता देखाउनुपर्ने आवश्यकता औंल्याए।

“यो प्रतिवेदन संयुक्त राष्ट्रसंघसँग सम्बन्धित अन्तर्राष्ट्रिय मानव अधिकार निकायहरूको अभिलेखमा रहनेछ। यसलाई आधार मानेर विगतमा विभिन्न देशहरूले मानव अधिकार उल्लंघनमा दोषी ठहर भएकाहरूलाई विदेश भ्रमणमा रोक लगाएका घटनाहरू समेत छन्,” उनले भने।त्यस अवसरमा अध्यक्ष लिङ्देनले आफ्नो पार्टी मुलुकको एकमात्र वैकल्पिक राजनीतिक शक्ति भएको दाबी गर्दै सम्पूर्ण पार्टी पंक्तिलाई निराश नभई एकजुट भएर अघि बढ्न आह्वान पनि गरे।