८० वर्ष पुग्नै लागेका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प ‘पूर्ण रूपमा स्वस्थ’ रहेको उनका डाक्टरले बताएका छन् । ट्रम्पका डाक्टर सन बारबेलाले शुक्रबार साँझ ह्वाइट हाउसबाट जारी गरेको नोटमा ट्रम्पको स्वास्थ्य स्थितिबारे जानकारी दिइएको हो ।
जसमा डाक्टर बारबेलाले भनेका छन्, ‘यस हप्ता गरिएको परीक्षणमा ७९ वर्षीय राष्ट्रपतिको खुट्टा हल्का सुन्निएको छ भने हातमा सानो चोट लागेको देखिएको छ ।’ नोटमा अगाडि भनिएको छ, ‘डोनाल्ड ट्रम्पको शारीरिक स्वास्थ्य उत्कृष्ट छ। उनका मुटु, फोक्सो, स्नायु प्रणाली र समग्र शरीर राम्रो र सामान्य अवस्थामा छन् ।’
उनका डाक्टरले ट्रम्प राष्ट्रपति र अमेरिकी सेनाको कमान्डर-इन-चिफको जिम्मेवारी निर्वाह गर्न ‘पूर्ण रूपमा फिट’ रहेको उल्लेख गरेका छन् । ट्रम्पको वार्षिक स्वास्थ्य जाँच यही मे २६ मा गरिएको थियो। उनी अर्को महिना जुनमा ८० वर्ष पुग्नेछन् ।
ट्रम्पले अक्सर आफूलाई पूर्वराष्ट्रपति जो बाइडेनभन्दा बढी ऊर्जावान् र तन्दुरुस्त रहेको दाबी गर्छन् ।














