इजरायलका रक्षामन्त्री इजरायल काट्जले दक्षिणी लेबननमा रहेको ऐतिहासिक र रणनीतिक ब्युफोर्ट किल्ला कब्जा गरिएको दाबी गरेका छन्। यो ठाउँलाई साकिफ पनि भनिन्छ।
रक्षामन्त्री काट्जले दक्षिणी लेबननमा हेजबुल्लाहविरुद्ध इजरायली सेनाको स्थलगत कारबाही विस्तार भइरहेको पनि बताएका छन्।
उनले आफ्नो टेलिग्राम च्यानल र एक्स ह्यान्डलमा लेखेका छन्, ‘ब्युफोर्ट लडाइँको ४४ वर्षपछि र अपरेसन पिस फर ग्यालिली (पहिलो लेबनन युद्ध १९८२) मा मारिएका सैनिकहरूको स्मृति मनाउने दिन आईडीएफ सैनिकहरू फेरि किल्लामा फर्किए र त्यहाँ इजरायली झन्डा फहराए।’
इजरायल काट्जले अगाडि भनेका छन्, ‘इजरायली सेनाले लेबननमा आफ्नो कारबाही विस्तार गरेको छ। सेनाले लिटानी नदी पार गरेर ब्युफोर्ट कब्जा गरेको छ।’
इजरायली रक्षामन्त्रीले ग्यालिली क्षेत्रलाई बस्तीहरूको रक्षा र सेनाको सुरक्षा सुनिश्चित गर्ने सबैभन्दा महत्त्वपूर्ण रणनीतिक बिन्दुमध्ये एक भएको उल्लेख गरेका छन्।















