अमेरिकाको जर्जियामा विवाह भएको केही घण्टापछि नै हेलिकप्टर दुर्घटना हुँदा एक भारतीय मूलका पाइलटको मृत्यु भएको छ भने उनकी श्रीमती घाइते भएकी छन्। बेहुलीलाई झन्डै ६ घण्टापछि उद्धार गरिएको थियो।
भारतीय मूलका पाइलट डेभ फिजीले जेसीसँग यही मे २९ तारिख डसनभिलको द रिभिएर वेन्डिङ भेन्युमा विवाह गरेका थिए। वैवाहिक समारोहमा लगभग ४०० पाहुना उपस्थित थिए।
विवाहलगत्तै नवविवाहित जोडी हेलिकप्टरबाट एटलान्टाका लागि प्रस्थान गरेका थिए, तर उडेको केही समयपछि नै हेलिकप्टर दुर्घटना भयो । तर दुर्घटनाको कुरा जुन १ मा सार्वजनिक भएको हो।
यस विषयमा अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्ड ९एनटीएसबी० ले अनुसन्धान गरिरहेको छ। यद्यपि एजेन्सीले दुर्घटनाको कारण अझै सार्वजनिक गरेको छैन ।
प्रारम्भिक अनुसन्धान प्रतिवेदन आगामी ३० दिन भित्र आउने अपेक्षा गरिएको छ। २५ वर्षीय डेभ फिजी डेल्टा एयरलाइन्सका फर्स्ट अफिसर थिए।
हेलिकप्टरमा चढ्नुअघि नै डेभले खराब मौसमप्रति चिन्ता व्यक्त गरेका थिए। उनका बुबाका अनुसार त्यस दिन त्यस क्षेत्रमा बाक्लो कुहिरो र वर्षा थियो, जसले गर्दा स्पष्ट रूपमा देख्न गाह्रो थियो।
परिवारका अनुसार, डेभले हेलिकप्टर पाइलटलाई यस्तो अवस्थामा उडान नगर्न भनेका थिए। तर पाइलटले उनलाई उच्च उचाइमा उडान गर्ने आश्वासन दिए र हेलिकप्टर उडाए।
उडेको केही समयपछि नै हेलिकप्टर डसनभिल नजिकैको जंगलमा दुर्घटना भयो। घना जंगल र कठिन भूभागका कारण उद्धार टोलीलाई दुर्घटनास्थलमा पुग्न धेरै समय लाग्यो।
डेभका बुबा जर्ज फिजीले भने, ‘हेलिकप्टरको भग्नावशेष पत्ता लगाउन धेरै घण्टा लाग्यो, जसले गर्दा उद्धारमा ढिलाइ भयो।’
परिवारका अनुसार जेसी ६ घण्टासम्म दुर्घटनाग्रस्त हेलिकप्टरमै फसेकी थिइन्। जब उनी होसमा आइन्, तब उनले आफूलाई भाँचिएको हेलिकप्टरबिचमा पाइन्। जर्ज फिजीले जेसीले आफूलाई सुनाएको घटना अत्यन्तै दर्दनाक भएको बताए।
जेसीले भनिन्, ‘जब मैले आँखा खोलेँ, डेभले आफ्नो टाउको मेरो छातीमा राखेका थिए। मैले आफ्नो शरीरमा रगत देखेँ। त्यसैले मैले तुरुन्तै डेभ अब यस संसारमा छैनन् भन्ने महसुस गरेँ।’
दुर्घटनामा जेसीलाई धेरै चोटपटक लागेको छ। तर हड्डी भाँचिएको छैन। परिवारका अनुसार उनी बिस्तारै निको हुँदैछिन्। उनी भर्खरै बिहे गरेका पति गुमाकाले विक्षिप्त छिन्।
डेभ फिजीका आमाबाबु मूल रूपमा भारतीय राज्य केरलाको एर्नाकुलम जिल्ला मुवाट्टुपुझाका स्थायी बासिन्दा हुन्। जेसीको परिवार भने केरलाको अलाप्पुझा जिल्लामा बस्छ।
















