लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश प्रमुखसमक्ष सिफारिस गर्दै उनले पुनर्गठित मन्त्रिपरिषद् गठन गरेका हुन्।
पुनर्गठित मन्त्रिपरिषद्मा पाँच जना नयाँ मन्त्री नियुक्त भएका छन्। जसमध्ये चार जना नेकपा (एमाले) बाट तथा एक जना जनता समाजवादी पार्टी (जसपा) बाट मन्त्री बनेका छन्।
एमालेका तर्फबाट तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यसैगरी रामजीप्रसाद घिमिरे स्वास्थ्य मन्त्री नियुक्त भएका छन् भने रत्नबहादुर खत्री लाई भौतिक पूर्वाधार विकास मन्त्रालय र डिल्लीराज भुसाल लाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ।
यस्तै जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ। यसअघि उक्त मन्त्रालय जसपाकै आदेशकुमार अग्रवालले सम्हाल्दै आएका थिए।
प्रदेश सरकार स्रोतका अनुसार मन्त्रिपरिषद् पुनर्गठनको उद्देश्य सरकारलाई थप प्रभावकारी, गतिशील र कार्यसम्पादनमुखी बनाउनु हो। नवनियुक्त मन्त्रीहरूको शपथग्रहण आगामी सोमबार तय गरिएको छ। शपथपछि उनीहरूले औपचारिक रूपमा आफ्नो मन्त्रालयको कार्यभार सम्हाल्नेछन्।
लुम्बिनी प्रदेश सरकारमा गरिएको यो पुनर्गठनलाई राजनीतिक रूपमा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। नयाँ मन्त्रीहरूको नियुक्तिसँगै प्रदेश सरकारको कार्यशैली, विकास कार्यक्रमको कार्यान्वयन तथा सेवा प्रवाहमा थप गति आउने अपेक्षा गरिएको छ।














