सुरक्षा माग्दै पटक-पटक उजुरी गर्दा पनि प्रहरीको बेवास्ताले गयो महिलाको ज्यान

Image

राजधानी काठमाडौंमै एक महिलाले पटक–पटक आफ्नो ज्यानको सुरक्षा माग्दै प्रहरीको ढोका ढकढक्याइन्। घरेलु हिंसाबाट जोगाइदिन अनुरोध गरिन्। कुटपिटका प्रमाण देखाइन्। आफ्ना नाबालक छोरासहित प्रहरीसमक्ष गुहार मागिन्। तर उनको पुकार सुनिएन। अन्ततः उनै महिलाको आफ्नै श्रीमान्को आक्रमणबाट ज्यान गएको छ।

तारकेश्वर नगरपालिका–६ पैँयुटारकी ४२ वर्षीया ईश्वरी भुजेलको शुक्रबार राति हत्या भएको घटनाले घरेलु हिंसाप्रति प्रहरी प्रशासनको संवेदनशीलता र जिम्मेवारीमाथि गम्भीर प्रश्न खडा गरेको छ। ईश्वरीका परिवारजनका अनुसार उनले ज्यानको सुरक्षा माग्दै प्रहरी वृत्त बालाजुमा कम्तीमा पाँच पटक निवेदन दिएकी थिइन्। तर ती निवेदनमाथि प्रभावकारी कारबाही नभएको आरोप छ।

ईश्वरीमाथि फलामको रडले प्रहार गरेको आरोपमा उनका श्रीमान् ४२ वर्षीय कुमार थापा मगर पक्राउ परेका छन्। सामाजिक सञ्जालमा ‘नेपाली ब्रो’ नामबाट परिचित मगरले घरायसी विवादका क्रममा श्रीमतीमाथि आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

गम्भीर घाइते भएकी ईश्वरीलाई उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भयो।

तर यो घटना एकाएक भएको नभई लामो समयदेखिको घरेलु हिंसाको दुःखद अन्त्य भएको मृतकका परिवारजनको दाबी छ।

ईश्वरीका १८ वर्षीय छोरा जेनिशका अनुसार उनका बुबाले विगतदेखि नै आमामाथि नियमित कुटपिट गर्दै आएका थिए। त्यसकाविरुद्ध आफूहरू पटक–पटक प्रहरीकहाँ पुगेका थिए। उनले कुटपिटका तस्बिर, प्रमाण र लिखित निवेदनसहित पाँच पटकसम्म प्रहरी वृत्त बालाजुमा उजुरी दिएको बताएका छन्।

“हामीले ज्यानको खतरा रहेको भन्दै प्रहरीलाई बारम्बार जानकारी दिएका थियौं। आमालाई बचाइदिन अनुरोध गरेका थियौं। कुटपिटका प्रमाण पनि बुझाएका थियौं,” जेनिशले भने, “तर प्रहरीले गम्भीर रूपमा लिएन। यदि समयमै कदम चालिएको भए आज मेरी आमा जीवित हुन सक्नुहुन्थ्यो।”

ईश्वरी नेपाली सेनामा कार्यरत थिइन् । परिवारका अनुसार ईश्वरी आफ्ना दुई छोरासँग बस्दै आएकी थिइन्। श्रीमान्–श्रीमतीबीच लामो समयदेखि विवाद चलिरहेको थियो। घरेलु हिंसा बढ्दै गएपछि उनले कानुनी संरक्षण खोज्दै प्रहरीको सहयोग मागेकी थिइन्। तर उनको सुरक्षा सुनिश्चित गर्न कुनै प्रभावकारी कदम नचालिएको आरोप परिवारको छ।

यसबारेमा टिभी अन्नपूर्णले बालाजु प्रहरी बृत प्रमुख डिएसपी यमलाल बञ्जाडेसँग बुभ्न खोज्न खोज्दा यो घटनाबारे बोल्न नमिल्ने बताएका छन् ।

यो घटनाले घरेलु हिंसाका उजुरीलाई प्रहरीले कति गम्भीरतापूर्वक लिन्छ भन्ने प्रश्न पुनः उठाएको छ। महिलाले बारम्बार ज्यानको सुरक्षा माग्दा पनि आवश्यक सुरक्षा नपाउनु र अन्ततः हत्या हुनु केवल एउटा पारिवारिक घटना मात्र नभई राज्य संयन्त्रको जवाफदेहितासँग जोडिएको विषय बनेको छ।

घरेलु हिंसाका घटनामा प्रहरीको भूमिका उजुरी दर्ता गरेर मात्र समाप्त हुँदैन। पीडितको सुरक्षा सुनिश्चित गर्ने, जोखिमको मूल्याङ्कन गर्ने र सम्भावित आपराधिक घटनालाई रोक्ने जिम्मेवारी पनि सुरक्षा निकायकै हुन्छ। तर ईश्वरीको घटनामा ती दायित्व पूरा भए वा भएनन् भन्ने प्रश्न अहिले गम्भीर रूपमा उठ्न थालेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले भने घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ भने पक्राउ परेका कुमार थापा मगरमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यद्यपि ईश्वरीका परिवारजन र आफन्तहरूको प्रश्न भने अझै उस्तै छ—पाँच पटकसम्म ज्यान जोगाइदिन गरेको आग्रह प्रहरीले समयमै सुनेको भए, के आज ईश्वरी जीवित हुने थिइनन् ?