प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार दिउँसो २ बजे बैठक बस्ने तय भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार समसामयिक राजनीतिक, प्रशासनिक तथा सरकारी कामकारबाहीसँग सम्बन्धित विषयमा छलफल गर्ने उद्देश्यले नियमित मन्त्रिपरिषद् बैठक आह्वान गरिएको हो।
यो बैठक गृहमन्त्रीमा सुधन गुरुङ पुनः नियुक्त भएपछि बस्न लागेको पहिलो मन्त्रिपरिषद् बैठक हुनेछ। सरकारले गुरुङलाई दोस्रो पटक गृहमन्त्रीको जिम्मेवारी दिएको छ। साथै मन्त्रिपरिषद् पुनर्गठनको क्रममा महावीर पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्।
सरकारको पछिल्लो मन्त्रिपरिषद् संरचना र आगामी नीति प्राथमिकताका विषयमा समेत बैठकमा छलफल हुन सक्ने अपेक्षा गरिएको छ।















