भारतले अफगानिस्तानमा पाकिस्तानले गरेको हवाई आक्रमणको कडा निन्दा गर्दै घटनामा ज्यान गुमाएकाहरूका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ।भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पाकिस्तानको सैन्य कारबाहीलाई अफगानिस्तानको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको खुला आक्रमण भएको उल्लेख गर्दै यसले क्षेत्रीय शान्ति र स्थिरतामा प्रत्यक्ष खतरा उत्पन्न गरेको जनाएको छ।
‘अफगानिस्तानको भूमिमा पाकिस्तानले गरेको हवाई आक्रमणको भारत कडा निन्दा गर्दछ,’ विज्ञप्तिमा भनिएको छ। ‘उक्त आक्रमणमा महिला र बालबालिकासहित धेरै निर्दोष नागरिकको मृत्यु भएको छ।’भारतले पाकिस्तानको कदमले उसको ‘लापरवाह व्यवहार’ झल्काउने दाबी गर्दै आफ्ना आन्तरिक असफलताबाट ध्यान मोड्न यस्ता सैन्य गतिविधिको सहारा लिने गरेको आरोप पनि लगाएको छ।
साथै, भारतले अफगानिस्तानको सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डताप्रति आफ्नो अटल समर्थन पुनः दोहोर्याएको छ।यसअघि पाकिस्तानले आइतबार र सोमबार मध्यरातमा अफगानिस्तानभित्र स्थल तथा हवाई सैन्य अभियान सञ्चालन गरेको जनाएको थियो। पाकिस्तानका अनुसार उक्त कारबाहीमा २९ जना चरमपन्थी मारिएका छन्।
तर, अफगानिस्तानको तालिबान सरकारले भने ती आक्रमणमा महिला र बालबालिकासहित दर्जनौं सर्वसाधारण नागरिकको मृत्यु भएको दाबी गरेको छ।पाकिस्तान, तालिबान सरकार र भारतका धारणा फरक–फरक रहेकाले घटनाको वास्तविक क्षति र विवरण स्वतन्त्र स्रोतबाट पुष्टि हुन सकेको छैन।













