त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबिएस) प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा सार्वजनिक भएको घटनापछि त्रिविले साइबर ब्युरोमा उजुरी दिँदै छानबिन प्रक्रिया अघि बढाएको छ।
साउन ८ गते मध्याह्न १२ बजे सुरु भएको परीक्षाको प्रश्नपत्र करिब पाँच मिनेटपछि ‘MBS First Sem Section C’ नामक ह्वाट्सएप समूहमा साझा गरिएको दाबी गरिएको छ। उक्त समूहमा एक हजार २३ जना सदस्य रहेको बताइएको छ।
फेसबुक पेज ‘TU Students’ ले प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै ह्वाट्सएप समूहमा पुगेको दाबी गर्दै सम्बन्धित स्क्रिनसट सार्वजनिक गरेको थियो। पेजका अनुसार यस घटनाले परीक्षा प्रणालीको गोपनीयता, निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ।
सार्वजनिक भएका स्क्रिनसटमा ‘सुलभ सर’ नामबाट प्रश्नपत्र पठाइएको देखिन्छ। त्यसपछि एक सदस्यले समाधानसमेत मागेको र केही मिनेटपछि अर्को पीडीएफ फाइल पनि साझा गरिएको देखिएको छ। यद्यपि उक्त फाइलमा के सामग्री थियो भन्ने पुष्टि भएको छैन।
घटनापछि व्यवस्थापन संकायको डीन कार्यालयले शनिबार नै नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गर्दै घटनाको अनुसन्धान गर्न आग्रह गरेको छ। सहायक डीन डा. भरत राईद्वारा पठाइएको पत्रमा स्क्रिनसटमा देखिएका व्यक्तिहरू, फोन नम्बर तथा सम्भावित संलग्न व्यक्ति, संस्था वा परीक्षा केन्द्रको पहिचान गरी कानुनी कारबाही गर्न सहयोग मागिएको छ।
यसैबीच, परीक्षा नियन्त्रण महाशाखाले आइतबार घटनाको सत्यतथ्य छानबिन गर्न प्रा.डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिमा सहप्राध्यापक डा. पुष्कर रैखला र सहप्राध्यापक डा. महेशराज ओझा सदस्य रहेका छन्।
समितिलाई घटनाको विस्तृत छानबिन गरी सात कार्यदिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ।














