राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री पद त्यागेका पूर्वसांसद धवल शम्शेर राणाले आज नयाँ राजनीतिक दल दर्ता गर्ने भएका छन्।
नेता सगुनसुन्दर लावतीका अनुसार राणा नेतृत्वको नयाँ दल दर्ताका लागि आज मध्याह्न साढे १२ बजे निर्वाचन आयोग जाने कार्यक्रम तय भएको छ। नयाँ पार्टीको नाम ‘जय नेपाल पार्टी’ र चुनाव चिह्नका रूपमा ‘त्रिभुज’ प्रस्ताव गरिएको लावतीले जानकारी दिए।
राणासँगै नयाँ दल निर्माणको तयारीमा रहेका दुर्गा प्रसाईं भने आज दल दर्ताका लागि निर्वाचन आयोग जाने सम्भावना कम रहेको बताइएको छ। प्रसाईंनिकट नेताहरूका अनुसार उनीहरूले छुट्टै राजनीतिक दल गठन गर्ने तयारी गरिरहेका छन्।
राणा र प्रसाईंबीच पार्टीका केही विषयमा कुरा नमिलेपछि सहकार्यमा दूरी बढेको बताइएको छ। पार्टीमा कार्यकारी अधिकार तथा वरीयतालगायत विषयमा मतभेद देखिएको नेताहरूले बताएका छन्। पछिल्लो समय प्रसाईंले राणालाई लक्षित गर्दै दिएको अभिव्यक्तिपछि पनि राणा पक्ष असन्तुष्ट बनेको थियो।
यद्यपि, दुवै पक्षबीच संवाद भने जारी रहेको नेता लावतीले बताएका छन्। उनका अनुसार बिहीबारसम्म पनि प्रसाईंसँग कुराकानी भइरहेको थियो र पार्टी दर्ताका लागि निवेदन दिएपछि थप छलफल गरिनेछ।
उता, प्रसाईंले सामाजिक सञ्जालमार्फत आफूहरूले छुट्टै पार्टी गठन गर्ने संकेत गरेका छन्। उनले नयाँ पार्टी सबै नेपाली नागरिक, जातजाति र धर्मको साझा पार्टी हुने दाबी गर्दै वैदिक सनातनी हिन्दु अधिराज्यसहित देशका पीडित, शोषित तथा उत्पीडित नागरिकको हक, अधिकार र न्यायका लागि पार्टी समर्पित हुने बताएका छन्।













