रोल्पामा ५ दिनमा पहिरोबाट १८ जनाको मृत्यु, एक जना अझै बेपत्ता

Image

लुम्बिनी प्रदेशको पहाडी जिल्ला रोल्पामा पछिल्लो पाँच दिनमा पहिरोमा परी १८ जनाको मृत्यु भएको छ।

गएराति लुङ्ग्री गाउँपालिका–५ धैरेनीमा पहिरोले घर पुरिँदा थप एक जनाको मृत्यु भएसँगै जिल्लामा पहिरोबाट मृत्यु हुनेको संख्या १८ पुगेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

प्रहरीका अनुसार पहिरोले घर पुरिँदा ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको हो। घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट पहिरो खसेर घर पुरिएपछि उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिएका छन्।

यसअघि बुधबार थबाङ गाउँपालिकामा पहिरोले बस्ती नै बगाउँदा १३ जनाको मृत्यु भएको थियो। उक्त घटनामा अझै एक जना बेपत्ता छन् भने दुई जनाको बुटवलमा उपचार भइरहेको छ।

त्यस्तै, बिहीबार सुनछहरी गाउँपालिका–२ अन्तर्गत फलबाङ र गिट्ठेमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको थियो।

लगातार भइरहेको वर्षाका कारण रोल्पाका विभिन्न स्थानमा पहिरोको जोखिम बढेको छ। पहिरोका कारण जनधनको क्षति हुनुका साथै जिल्लाका विभिन्न क्षेत्रमा आवतजावतमा समेत समस्या भइरहेको जनाइएको छ।