अमेरिकाको ट्राभल एडभाइजरी: नेपालमा अचानक प्रदर्शन हुन सक्छ, सचेत रहनू

Image

अमेरिकी विदेश मन्त्रालयले नेपाल भ्रमण गर्ने आफ्ना नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। नेपालमा नागरिक अशान्ति तथा स्थानीयस्तरमा अचानक प्रदर्शन हुन सक्ने जोखिम कायमै रहेको भन्दै मन्त्रालयले नेपालका लागि यात्रा चेतावनी अद्यावधिक गरेको हो।

अमेरिकी विदेश मन्त्रालयले दुई दिनअघि अद्यावधिक गरेको ‘ट्राभल एडभाइजरी’मा नेपाललाई लेभल २ अर्थात् ‘बढ्दो सतर्कता अपनाउनुपर्ने’ श्रेणीमा राखेको छ।

मन्त्रालयका अनुसार सन् २०२५ को सेप्टेम्बरमा सुरु भएका देशव्यापी प्रदर्शनहरू अहिले रोकिएका छन् र नेपालको समग्र सुरक्षा अवस्था स्थिर रहेको छ। यद्यपि, विशेषगरी सहरी क्षेत्रमा प्रदर्शन तथा स्थानीय अशान्ति अचानक हुन सक्ने जोखिम अझै रहेको चेतावनी दिइएको छ।

यात्रा चेतावनीमा प्रदर्शनहरू थोरै वा कुनै पूर्वसूचनाबिनै सुरु हुन सक्ने र छोटो समयमै हिंसात्मक बन्न सक्ने उल्लेख गरिएको छ। अमेरिकी नागरिकलाई ठूलो भीडभाड तथा प्रदर्शनबाट टाढा रहन र स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पालना गर्न आग्रह गरिएको छ।

रसुवाको सीमावर्ती क्षेत्रमा यात्रा नगर्न आग्रह

अमेरिकी विदेश मन्त्रालयले रसुवाको रसुवागढी–टिमुरे–स्याफ्रुबेँसी क्षेत्र तथा नेपाल–चीन सीमा नाका आसपास कुनै पनि कारणले यात्रा नगर्न आफ्ना नागरिकलाई आग्रह गरेको छ।

बाढीबाट भएको क्षति, यातायात तथा सञ्चार सेवा अवरुद्ध हुनु, खोज तथा उद्धार एवं पुनःस्थापनाका काम जारी रहनु र थप बाढी तथा पहिरोको जोखिमका कारण उक्त क्षेत्रलाई उच्च जोखिमयुक्त क्षेत्रका रूपमा उल्लेख गरिएको छ।

स्वास्थ्य सेवाको सीमित क्षमताबारे चिन्ता

यात्रा चेतावनीमा नेपालका स्वास्थ्य सेवाको सीमित क्षमताबारे पनि अमेरिकी विदेश मन्त्रालयले ध्यानाकर्षण गराएको छ।

काठमाडौंका अस्पतालहरू देशका अन्य क्षेत्रको तुलनामा राम्रो भए पनि अत्यधिक भीडभाड, आवश्यक उपकरण तथा औषधिको अभाव र उपचारअघि नै भुक्तानी गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिइएको छ।

नेपाल सरकारले विदेशी नागरिकको उपचार खर्च व्यहोर्ने व्यवस्था नगरेको भन्दै अमेरिकी नागरिकलाई आवश्यक औषधि साथमा राख्न र स्वास्थ्य तथा आपत्कालीन उद्धारसमेत समेटिएको यात्रा बीमा गर्न सुझाव दिइएको छ। गम्भीर स्वास्थ्य समस्या देखिएमा उपचारका लागि अर्को देश जानुपर्ने अवस्था आउन सक्ने भएकाले त्यसका लागि समेत तयारी गर्न मन्त्रालयले आग्रह गरेको छ।

बाढी, पहिरो र भूकम्पको जोखिम

नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको पनि अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। नेपालमा नियमित रूपमा भूकम्प, बाढी तथा पहिरो जाने गरेको र काठमाडौं उपत्यकासमेत भूकम्पको जोखिममा रहेको उल्लेख गरिएको छ।

विशेषगरी जुनदेखि सेप्टेम्बरसम्मको मनसुन अवधिमा हुने भारी वर्षाका कारण आकस्मिक बाढी तथा पहिरोको जोखिम बढ्ने मन्त्रालयको चेतावनी छ।

यस्ता प्राकृतिक विपद्ले सडक अवरुद्ध गर्नुका साथै भवनमा क्षति पुर्‍याउन र आपत्कालीन अवस्थामा उद्धार तथा सहायता प्राप्त गर्न कठिन बनाउन सक्ने जनाइएको छ।

अमेरिकी विदेश मन्त्रालयले नेपाल भ्रमण गर्ने आफ्ना नागरिकलाई यात्रा अघि स्थानीय सुरक्षा अवस्था तथा मौसमसम्बन्धी सूचना अद्यावधिक राख्न र सम्भावित प्राकृतिक विपद् तथा अन्य आकस्मिक अवस्थाका लागि आवश्यक तयारी गर्न आग्रह गरेको छ।