भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको भीषण बाढीमा परी अहिलेसम्म ९८७ जनाको शव भेटिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीपछि विभिन्न जिल्लाका नदी तथा नदी किनारबाट ती शव फेला परेका हुन्।
फेला परेका शवमध्ये रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७० र चितवनमा ३२१ रहेका छन्।
प्राधिकरणका अनुसार बाढीपछि ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन्। सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका तीन जना रहेका छन्।
त्यस्तै, रसुवामा करिब ८६५, नुवाकोटमा १ हजार ५५८, जलविद्युत् आयोजनामा कार्यरत ६३९ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।
सम्पर्कविहीन हुनेमा विदेशी नागरिक ५८३, विदेशी पर्यटकसँगै घुम्न गएका नेपाली १६४, लाङटाङ राष्ट्रिय निकुञ्जका तीन तथा क्वारेन्टाइन कार्यालयका तीन जना पनि रहेका छन्।
बाढीमा परी हालसम्म २७९ जना घाइते भएको प्राधिकरणले जनाएको छ।
सरकारका अनुसार बाढी प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म ११ हजार ८१४ जनाको उद्धार गरिएको छ। उद्धार, खोजी तथा राहतका लागि २१ हजारभन्दा बढी सुरक्षाकर्मी बाढी प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।
बाढीमा बेपत्ता भएकाहरूको खोजी तथा फेला परेका शवको पहिचान गर्ने काम अझै जारी रहेको प्राधिकरणले जनाएको छ।













