भारतले पठायो नेपालका लागि पाँचौँ खेपको सहयोग

Image

रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउन भारतले पाँचौँ खेपको सहायता सामग्री नेपाल पठाएको छ।

भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले बुधबार बिहान सामाजिक सञ्जालमार्फत पाँचौँ खेपको सहयोग विमानमार्फत नेपालतर्फ पठाइएको जानकारी दिएका हुन्।

जयशंकरका अनुसार उद्धार तथा खोजी कार्यका लागि आवश्यक विशेष उपकरणसहित ११ सदस्यीय उद्धार टोली र ५.५ टन अत्यावश्यक औषधि नेपाल पठाइएको छ। बाढी प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन उक्त सहयोग उपयोगी हुने अपेक्षा गरिएको छ।

यसअघि भारतले भदौ १४ गते बाढी प्रभावितका लागि ११ टन राहत सामग्री तथा प्राविधिक टोलीसहितको चौथो विमान नेपाल पठाएको थियो।

भोटेकोशी क्षेत्रमा बाढीपछि नेपालमा उद्धार, खोजी तथा राहत कार्य तीव्र रूपमा जारी छ। प्रभावित क्षेत्रका नागरिकलाई सहयोग गर्न भारतसहित विभिन्न देश तथा अन्तर्राष्ट्रिय निकायहरूले राहत सामग्री, प्राविधिक जनशक्ति तथा अन्य आवश्यक सहयोग उपलब्ध गराउँदै आएका छन्।