प्रधानमन्त्री बालेन्द्र शाहले ‘प्रधानमन्त्री दैवी उद्धार कोष’ मा हालसम्म ७ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ जम्मा भएको जानकारी दिएका छन् । भदौ १७ गते बुधबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले विपद् व्यवस्थापनका लागि कोषको मौज्दात र निकासा सम्बन्धी विवरण सार्वजनिक गरे ।
प्रधानमन्त्री शाहका अनुसार सरकारले विपद् व्यवस्थापन र राहत कार्यलाई प्रभावकारी बनाउन राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा १ अर्ब रुपैयाँ निकासा गरिसकेको छ ।
प्राधिकरणलाई पठाइएको उक्त १ अर्ब रुपैयाँमध्येबाट हालसम्म विभिन्न १५ वटा पालिकाका नाममा ६ करोड ७५ लाख रुपैयाँ निकासा भइसकेको उनले बताए । विपद् प्रभावित क्षेत्रका स्थानीय तहलाई सिधै बजेट पठाएर राहत र पुनर्स्थापनाको कामलाई तीव्रता दिइएको जानकारी उनले दिए ।
सदनमा बोल्दै उनले विपद्को यो समयमा स्रोत र साधनको अधिकतम प्रयोग गरी नागरिकको जिउधनको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।














