प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र पूर्वऊर्जामन्त्री कुलमान घिसिङबिच भेटवार्ता भएको छ।
बिहीबार बिहान ११ बजेदेखि नै उनीहरूबिच प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भेट भएको हो। उनीहरूबिच हाल जारी वार्तामा गत साता रसुवाको भोटेकोसीमा आएको बाढीले गरेको क्षति तथा उद्धारको विषयमा छलफल भइरहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।
उज्यालो नेपाल पार्टीका अध्यक्षसमेत रहेका घिसिङले केही दिनअघि मात्रै बाढीग्रस्त क्षेत्रमा पुगेर जलविद्युत् आयोजनाहरूमा फसेका मानिसहरूको उद्धार कार्यको जानकारी लिएका थिए। निर्माण सकिएका र निर्माणाधिन एक दर्जन जति विद्युत् आयोजनामा धेरै मानिस फसेको र आयोजनामा पनि ठूलो क्षति पुगेकाले प्रधानमन्त्री शाहले घिसिङसँग छलफल गरेका हुन्।
९ दिन बितिसक्दासमेत सुरुङमा फसेका मानिसहरूकाे उद्धारमा प्रगति हुन सकेको छैन।













