भारतको जम्मु-कश्मीरस्थित श्रीनगर विमानस्थलमा शुक्रबार पार्किङ गर्ने क्रममा इन्डिगोको उडान ६ई २२५ (भीटी-एनओजी) एउटा पोलमा ठोकिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार नवी मुम्बईबाट शुक्रबार बिहान श्रीनगर पुगेको उक्त विमान बिहान ९ बजेतिर पार्किङ गर्ने क्रममा पोलमा ठोकिएको हो।
यद्यपि जहाजमा रहेका सबै २०० यात्रु र चालक दल सुरक्षित छन्। कसैलाई कुनै चोट लागेको छैन। दुर्घटनापछि यात्रु र चालक दललाई म्यानुअल विमानको भर्याङ प्रयोग गरेर सुरक्षित रूपमा बाहिर निकालिएको थियो। दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ।
हाल श्रीनगर विमानस्थलबाट सामान्य रूपमै विमान सञ्चालन भइरहेका छन्। विमान ठोकिएको पोल भिजुअल डकिङ गाइडेन्स सिस्टमको अंश हो। यो प्रणालीले विमानलाई पार्किङमा सुरक्षित रूपमा लान मद्दत गर्छ।













