अमरेशको चेतावनी : वर्तमान संविधान असफल भए १० वर्षसम्म नयाँ संविधान बन्दैन

Image

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार सिंहले वर्तमान संविधानमाथि आन्तरिक तथा बाह्य विभिन्न शक्तिहरूबाट चौतर्फी प्रहार भइरहेको बताएका छन् ।

जनकपुरधाममा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सांसद सिंहले मुलुकको वर्तमान संविधान असफल भए आगामी १० वर्षसम्म नयाँ संविधान बन्न नसक्ने चेतावनी दिएका छन् । 

सांसद सिंहले कुनै कारणवश वर्तमान संविधान गुमेमा देश गृहयुद्धको चक्रब्यूहमा फस्ने र मधेशले जनयुद्ध तथा मधेश आन्दोलनको जगमा प्राप्त गरेका अधिकार तथा उपलब्धिहरू समेत समाप्त हुने बताए । 

उनले केन्द्रको सत्ता सञ्चालन गर्नेहरूले मधेशलाई सधैँ उपेक्षा गरेको आरोप लगाउँदै मधेश र कोशी प्रदेशलाई रणनीतिक रूपमा ‘ब्याटल ग्राउन्ड’ बनाउने दुष्प्रयास भइरहेको आरोप लगाए । 

उनले आफ्नै पार्टीको सरकार भए पनि जनताका सवालमा सरकारलाई निरन्तर खबरदारी गरिरहने स्पष्ट पारे । सांसद सिंहले मधेशमा शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, शान्ति–सुरक्षा र सरसफाइ जस्ता आधारभूत आवश्यकताहरू अझै लथालिङ्ग अवस्थामा रहेको उल्लेख गर्दै मधेशमा हालसम्म स्तरीय सरकारी मेडिकल कलेज वा सुपर स्पेसियालिटी अस्पताल नहुनु विडम्बनापूर्ण रहेको टिप्पणी गरे ।

सांसद सिंहले मधेशका वास्तविक समस्या, जनअपेक्षा तथा विकासका चुनौतीहरूलाई प्रत्यक्ष रूपमा बुझ्न आगामी छठ पर्वको अवसर पारेर जनकपुरधामबाट ‘मेची–महाकाली पैदल यात्रा’ सुरु गर्ने घोषणा गरे ।