परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्य बेलायतका अन्तर्राष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री क्रिस्टी म्याकनिलबीच भेटवार्ता भएको छ।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भएको भेटवार्तामा नेपाल–बेलायत सम्बन्ध तथा पारस्परिक हितका विविध विषयमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ।
भेटमा पछिल्लो समय विस्तार हुँदै गएको नेपाल–बेलायत द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विचारविमर्श भएको थियो। विशेषगरी नेपालमा हालै आएको विनाशकारी विपद्पछिको उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका कार्यमा बेलायतसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको जनाइएको छ।
सो अवसरमा मन्त्री खनालले नेपालले विपद्पछिको उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका काम अघि बढाइरहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय साझेदारी र सहयोगको महत्त्व रहेको बताए।
भेटवार्तामा दुवै पक्षले नेपाल–बेलायतबीच विद्यमान सहयोगलाई थप विस्तार तथा सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।














