अमेरिकाले नेटोमा आबद्ध केही सहयोगी राष्ट्रलाई रुसको खतराबारे सार्वजनिक अभिव्यक्ति दिँदा संयमता अपनाउन आग्रह गरेको छ । पेन्टागनका अधिकारीहरूले लिथुआनिया, लातभिया र इस्टोनियासहितका देशलाई रुसविरुद्ध उत्तेजक बयानबाजी नगर्न सुझाव दिएको रोयटर्सले विभिन्न स्रोतलाई उद्धृत गर्दै जनाएको छ ।
केही युरोपेली नेताका अभिव्यक्ति महादेशको सुरक्षाका लागि उपयुक्त नभएको अमेरिकी अधिकारीहरूको बुझाइ छ । विभिन्न द्विपक्षीय बैठकमार्फत यस्तो सन्देश दिइएको भए पनि बाल्टिक देशबाहेक अन्य कुन सरकारलाई आग्रह गरिएको हो भन्ने स्पष्ट छैन । पेन्टागनका नीति प्रमुख एल्ब्रिज कोल्बी पनि सन्देश दिने अमेरिकी अधिकारीमध्ये एक थिए ।
कोल्बीले हालै बाल्टिक क्षेत्रका एक अधिकारीलाई रुसलाई उक्साउने खालका अभिव्यक्ति नदिन आग्रह गरेको रोयटर्सले जनाएको थियो । उनले युक्रेन युद्धका क्रममा रुस घेराबन्दीमा परेको र हतास भएर कदम चालिरहेको भन्ने युरोपेली नेताका अभिव्यक्तिलाई उदाहरणका रूपमा प्रस्तुत गरेका थिए ।
इस्टोनियाका प्रधानमन्त्री क्रिस्टन मिहालले गत सेप्टेम्बरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको तुलना कुनामा थुनिएको मुसासँग गरेका थिए ।
अमेरिकी सन्देशको आशय अमेरिकाले युरोपलाई सहयोग गरिरहेको भए पनि सहयोगी राष्ट्रहरूले अनावश्यक तनाव बढाउने अभिव्यक्ति दिनु हुँदैन भन्ने भएको एक युरोपेली अधिकारीले बताए । पेन्टागनले इस्टोनियाको प्रतिनिधिमण्डललाई पनि सार्वजनिक अभिव्यक्तिमा सन्तुलन कायम राख्न आग्रह गरेको थियो ।
अमेरिकाको यो आग्रह ट्रम्प प्रशासनले युक्रेन युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास गरिरहेका बेला आएको हो । वार्ताका क्रममा रुसमाथिका प्रतिबन्धमा छुट दिने प्रस्तावबारे विचार भइरहेको छ भने युक्रेनलाई रुसी ऊर्जा पूर्वाधारमाथिका आक्रमण रोक्न दबाब दिइएको छ ।
रुसको खतराबारे सार्वजनिक रूपमा कसरी बोल्ने भन्ने विषयमा नेटोभित्र पनि मतभेद छ । केही अधिकारी रुसबारे निरन्तर चेतावनी दिँदा मस्कोलाई डर फैलाउने अवसर मिल्ने बताउँछन् ।
अर्कोतर्फ, युरोपेली नागरिकलाई सुरक्षा चुनौतीबारे जानकारी गराउन आवश्यक रहेको र त्यसले प्रतिरक्षाका लागि खर्च तथा तयारीको महत्त्व बुझाउन मद्दत गर्ने केही अधिकारीको भनाइ छ ।













