अमेरिकाले युक्रेनलाई ५०० वटा पेट्रियट मिसाइल बिक्री गर्न स्वीकृति दिएको छ । रुसी हवाई आक्रमणबाट प्रतिरक्षाका लागि अत्यावश्यक मानिएका यी मिसाइल आइपुग्न भने केही वर्ष लाग्न सक्ने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार अत्याधुनिक पीएसी–३ इन्टरसेप्टर मिसाइलको मूल्य २.१ अर्ब अमेरिकी डलर हुनेछ । यसको सम्पूर्ण खर्च युरोपेली मुलुक र क्यानडाले बेहोर्नेछन् ।
शुक्रबार राति जेलेन्स्कीले रुसी ब्यालिस्टिक मिसाइल खसाल्न प्रभावकारी मानिएको पेट्रियट प्रणालीको आपूर्ति छिटो गर्न अमेरिकासँग पुनः आग्रह गरेका थिए ।
यो निर्णय अमेरिका र युक्रेनबीच यसै महिनाको सुरुतिर बढेको तनावपछि आएको हो । त्यसबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँगको युद्ध अन्त्य गर्न युक्रेनमा नयाँ नेतृत्व आवश्यक रहेको टिप्पणी गरेका थिए ।
अमेरिकी विदेश मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा प्रस्तावित बिक्रीले युरोपको राजनीतिक तथा आर्थिक स्थायित्वमा योगदान पुर्याउने साझेदार राष्ट्रको सुरक्षा सुदृढ बनाउने र अमेरिकी विदेश नीति तथा राष्ट्रिय सुरक्षा उद्देश्यलाई सहयोग गर्ने उल्लेख गरेको छ ।
विज्ञप्तिअनुसार युक्रेनले क्यानडा, जर्मनी र नर्वेबाट प्राप्त अनुदान तथा राष्ट्रिय कोषमार्फत खरिदको भुक्तानी गर्नेछ । यसमा युरोपेली संघको युक्रेन सहायता ऋण कार्यक्रमले पनि वित्तीय सहयोग गर्नेछ ।
अमेरिकी रक्षा कम्पनी लकहिड मार्टिन यस सम्झौताको प्रमुख ठेकेदार हुनेछ । विदेश मन्त्रालयले बिक्रीमा अमेरिकी सरकारी कोष प्रयोग नहुने पनि स्पष्ट पारेको छ ।














