पर्यटन क्षेत्रको जलवायुजन्य जोखिम न्यूनीकरण गर्न सरकारी सहयोग आवश्यक : मन्त्री पौडेल

Image
काठमाडौँ, २२असार: सिंहदरबारस्थित सङ्घीय संसद भवनमा सोमबार बसेको राष्ट्रियसभा बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित शीर्षक माथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै संस्कृति, पर्यटनमन्त्री खडकराज पौडेल । तस्बिरः प्रदीपराज वन्त /रासस

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले जलवायु परिवर्तनका कारण पर्यटन क्षेत्रमा बढ्दै गएको जोखिम न्यूनीकरणका लागि सरकारी सहयोग र संस्थागत सहकार्य आवश्यक रहेको बताएका छन् ।

बेलायतको लन्डनमा बुधबार आयोजित विश्व यात्रा तथा पर्यटन परिषद् (डब्लुटीटीसी) र संयुक्त राष्ट्रसङ्घीय पर्यटनको २०औँ मन्त्रीस्तरीय शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले दिगो र उत्थानशील पर्यटन विकासका लागि स्थानीय समुदायको सशक्तीकरणमा जोड दिएका हुन् ।

मन्त्री पौडेलले भोटेकोशी बाढीबाट भएको मानवीय क्षति र पर्यटन पूर्वाधारमा पुगेको क्षतिलाई जलवायु परिवर्तनले पर्यटन क्षेत्रमा निम्त्याउन सक्ने जोखिमको उदाहरणका रूपमा प्रस्तुत गरेका थिए ।

जलवायु परिवर्तनका असरले पर्यटकीय गन्तव्य, पर्यटन पूर्वाधार र स्थानीय समुदायको जीविकोपार्जनमा समेत चुनौती थपिरहेको उनको भनाइ थियो ।

पर्यटन क्षेत्रलाई विपद् तथा जलवायुजन्य जोखिमबाट सुरक्षित राख्न समुदाय, सरकार र सक्षम संस्थाहरूको सहभागितामा प्रभावकारी सङ्कट व्यवस्थापन प्रणाली विकास गर्नुपर्नेमा उनले जोड दिए ।

समुदायलाई विपद् व्यवस्थापन र पर्यटन विकासको केन्द्रमा राख्दै सरकारी सहयोग तथा संस्थागत क्षमता अभिवृद्धि गर्न सके मात्रै पर्यटन क्षेत्रलाई दिगो र उत्थानशील बनाउन सकिने उनले बताए ।

‘बदलिँदो विश्व परिवेशमा पर्यटन क्षेत्रको उत्थानशीलता अभिवृद्धि’ विषयमा केन्द्रित सम्मेलनमा विभिन्न देशका पर्यटनमन्त्री तथा सार्वजनिक र निजी क्षेत्रका प्रतिनिधिहरू सहभागी थिए ।

सम्मेलनमा सहभागी मन्त्री तथा अन्तर्राष्ट्रिय पर्यटन क्षेत्रका प्रतिनिधिहरूले विश्वव्यापी अनिश्चितता र बदलिँदो परिस्थितिका बीच पर्यटन क्षेत्रको जोखिम सामना गर्ने क्षमता अभिवृद्धि, सार्वजनिक–निजी क्षेत्रबीचको सहकार्य र दिगो पर्यटन विकासका विषयमा अनुभव तथा धारणा आदानप्रदान गरेका थिए ।