होर्मुजमा ‘माइनसँग ठोक्किएर’ दुई ट्यांकर र टगबोटमा आगलागी

Image

इरानले होर्मुज जलमार्गमा अनधिकृत मार्गबाट गुज्रने प्रयासका क्रममा दुई तेल ट्यांकर र एउटा टगबोटमा आगलागी भएको जिकिर गरेको छ । ती जहाज समुद्री बारुदी सुरुङ (माइन)सँग ठोक्किएको इरानले जनाएको छ ।

इरानी इलेक्ट्रोनिक वारफेयर युनिटले दुई अमेरिकी ‘लुकास’ ड्रोन नियन्त्रणमा लिइएको पनि जनाएको छ । इरानको समाचार एजेन्सी फार्सले इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी)लाई उद्धृत गर्दै यो जानकारी दिएको हो ।

आईआरजीसीका अनुसार, बुधबार राति होर्मुजको दक्षिणी मार्गबाट गुज्रने क्रममा एउटा ठूलो तेल ट्यांकर माइनसँग ठोक्किएर आगलागी भएको थियो । अर्को सुपरट्यांकर जलमार्गको पूर्वी भागबाट बाहिरिने क्रममा आगोको चपेटामा परेको थियो । त्यो आगो निभाउन पुगेको टगबोटमा समेत आगलागी भएको थियो । 

अमेरिकाले जहाजहरूलाई माइन बिछ्याइएका मार्गबाट गुज्रन दबाब दिएकाले अमेरिकी करदातासहित क्षेत्रीय सहयोगीले ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको र बिमा खर्च समेत बढेको आईआरजीसीको भनाइ छ ।

आईआरजीसीको नौसैनिक इलेक्ट्रोनिक वारफेयर युनिटले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका दुई अमेरिकी लुकास ड्रोन नियन्त्रणमा लिइएको जनाएको छ ।

यसअघि बुधबार पनि आईआरजीसीले होर्मुज जलमार्गस्थित केशम द्वीपमाथि अमेरिकी एमक्यू–१ ड्रोन खसालिएको जनाएको थियो । इरानी वायु रक्षा प्रणालीले खसालेको यो १५औँ ड्रोन हो ।