वाणिज्य बैंकहरूले मंसिर १ गतेदेखि लागु हुनेगरी ब्याजदर सार्वजनिक गरेका छन् । धेरैजसो बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेका छन् । २० वाणिज्य बैंकमध्ये १४ वटाले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । ६ बैंकले भने ब्याजदर परिवर्तन गरेका छन् ।
बैंकहरूले सार्वजनिक गरेको विवरणअनुसार कृषि विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ४.१५ बाट घटाएर ३.६५ प्रतिशत कायम गरेको छ । कुमारी बैंकले ३.७० बाट घटाएर ३.६१ प्रतिशत र लक्ष्मी सनराइज बैंकले ४ बाट घटाएर ३.९० प्रतिशतमा झारेको छ ।
त्यस्तै, माछापुच्छ्रे बैंकले ४.५० बाट घटाएर ३.५० प्रतिशत कायम गरेको छ । एनएमबि बैंकले ४.५० बाट घटाएर ३.२५ प्रतिशत तथा स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.७० प्रतिशतबाट घटाएर ३.६५ प्रतिशत कायम गरेको छ ।
कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिने बैंकहरूमा एभरेष्ट बैंक, नेपाल बैंक, नेपाल एसबीआई बैंक, ग्लोबल आइएमई बैंक, प्राइम बैंक छन् । सिटिजन्स बैंक, प्रभु बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, नबिल बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईएमबि बैंक र एनआईसी एसिया बैंकले पनि ब्याजदर यथावत् राखेका छन् ।
व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर मंसिरमा घटेर ३.८७ प्रतिशत कायम भएको छ । कात्तिकमा भने औसत ३.९८ प्रतिशत रहेको थियो । यसले बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदरमा ०.११ प्रतिशत विन्दुरको कमी आएको देखाएको छ ।
मंसिरका लागि सबैभन्दा बढी व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर सानिमा बैंकले ४.५० प्रतिशत कायम गरेको छ । त्यस्तै, नेपाल बैंक, प्रभु बैंक र एनआईसी एसिया बैंकले ४ प्रतिशतभन्दा माथिको ब्याजदर दिएका छन् ।
बैंकहरूले हरेक महिना निक्षेपको ब्याजदर सार्वजनिक गर्दै आएका छन् । नयाँ ब्याजदर मंसिर १ गतेदेखि लागु हुनेछ ।













