इरानसँगको युद्ध र रक्षा विभाग (पेन्टागन) का लागि थप ३५० अर्ब डलर बजेट माग गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावका कारण अमेरिकी संसद्मा विवाद चर्किएको छ । यो गतिरोधसँगै आगामी क्रिसमसअघि नै संघीय सरकारको कामकाज ठप्प (सटडाउन) हुने जोखिम बढेको छ ।
बीबीसी पर्सियनका अनुसार बजेटसम्बन्धी मतभेद समयमै अन्त्य नभए सरकारी निकायहरूको नियमित कामकाज गम्भीर रूपमा प्रभावित हुन सक्छ । रोयटर्सले जनाएअनुसार, दुवै प्रमुख दलका सांसदहरूले गहिरो राजनीतिक ध्रुवीकरणका कारण बजेटमा तत्काल सहमति जुटाउन कठिन हुने चेतावनी दिएका छन् ।
अमेरिकी सरकारको वर्तमान खर्च बजेट आगामी डिसेम्बर ११ सम्म मात्र कायम रहनेछ । तसर्थ, नयाँ वा अस्थायी खर्चसम्बन्धी विधेयक पारित गर्न सांसदहरूसँग अब करिब तीन साताको मात्र समय बाँकी छ । १०० सदस्यीय सिनेटमा बजेट प्याकेज पारित गर्न कम्तीमा ६० मत आवश्यक पर्ने भएकाले सत्तापक्ष र प्रतिपक्षबीच सहमति अनिवार्य छ । तर, बीचमा पर्ने ‘थ्याङ्क्सगिभिङ’ पर्वको एक साता लामो बिदाका कारण संसदीय प्रक्रिया झनै प्रभावित हुने देखिएको छ ।
यसैबीच, भर्मन्टका डेमोक्रेटिक सिनेटर पिटर वेल्चले युद्धका निम्ति थप रकम विनियोजन गर्न र सरकारको कामकाज ठप्प पार्न दुवै पक्ष इच्छुक नरहेको बताएका छन् । उनले हालको बजेट विवादको मध्यमार्गी समाधान खोज्नु नै संसद्का लागि मुख्य चुनौती बनेको उल्लेख गरेका छन् ।
















