कतारी मध्यस्थकर्तासँग तेहरानमा वार्ता, होर्मुज खुलाउन सर्त मान्नुपर्ने इरानको अडान

Image

इरानले कतारी मध्यस्थकर्ताहरूले तेहरानको भ्रमण गरी आफ्ना उच्च अधिकारीहरूसँग वार्ता गरेको जनाएको छ । 

यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघचीले रणनीतिक महत्त्वको ‘होर्मुज जलमार्ग’ पुनः खुला गर्न अमेरिकाले इरानका सर्तहरू स्वीकार गर्नुपर्ने अडान दोहोर्‍याएका छन् ।

इरानको अर्धसरकारी समाचार संस्था ‘तस्निम’का अनुसार, उपविदेशमन्त्री काजेम गरिबाबादीले शुक्रबार राति कतारी प्रतिनिधिमण्डल र इरानी अधिकारीहरूबीच दुई घण्टा लामो वार्ता भएको जानकारी दिएका हुन् ।

शनिबार उनले कतारसहितका मध्यस्थकर्तासँग प्रत्यक्ष र भर्चुअल माध्यमबाट सम्पर्क भइरहेको र कूटनीतिक समाधानको सम्भावनाबारे छलफल जारी रहेको बताए । यद्यपि, अहिलेसम्म औपचारिक वार्ता सुरु नभएको उनको भनाइ छ ।

औपचारिक वार्ता भए इरानको परमाणु कार्यक्रमका प्राविधिक पक्षमा छलफल हुन सक्ने उनले बताए । तर, संवर्धित युरेनियम विदेश लैजान नदिने इरानको अडान यथावत् रहेको उनले स्पष्ट पारे । उनले अमेरिकी आर्थिक नाकाबन्दीलाई युद्धकै रूपमा लिँदै त्यसको प्रतिकार गर्न आवश्यक कदम चाल्ने चेतावनीसमेत दिए ।

इरानी सरकारी टेलिभिजनका अनुसार, विदेशमन्त्री अराघचीले शनिबार वार्तालाई अवसर दिन र अमेरिकाले इरानमाथिको नाकाबन्दी हटाउनुपर्ने बताएका छन् ।

उनले इरानका माग पूरा नभएसम्म होर्मुज जलमार्ग खोल्ने विषयमा छलफल गर्नु निरर्थक हुने बताए । इरानका सर्तमा सबै मोर्चामा युद्ध अन्त्य, रोक्का गरिएका सम्पत्ति फुकुवा, तेलमाथिको प्रतिबन्ध हटाउने र इरानी बन्दरगाहमा लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य गर्ने विषय छन् ।

तस्निमका अनुसार अराघचीले अन्तर्राष्ट्रिय कानुनअनुसारका जायज सर्त स्वीकार गरे होर्मुज जलमार्ग पुनः खुलाउन कठिन नहुने बताएका छन् । अमेरिकाले आफ्ना गल्ती स्वीकार गरी विगतका प्रतिबद्धता पूरा नगरेसम्म समाधान सम्भव नहुने उनको भनाइ छ ।