इन्डोनेसियाको मिठाई कारखानामा आगलागी हुँदा तीन जनाको मृत्यु, ३६ जना बेपत्ता

Image

 इन्डोनेसियाको राजधानी जकार्ताको पश्चिममा रहेको एक मिठाई उत्पादन गर्ने कारखानामा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता भएका छन् ।

स्थानीय उद्धार अधिकारीका अनुसार शनिबार दिउँसो सेराङ जिल्लास्थित फोनुसा अगुङ मुलिया कारखानामा आगलागी भएको हो। उक्त स्थान राजधानी जकार्ताबाट करिब ५० किलोमिटर पश्चिममा पर्दछ ।

आगलागीमा परी चार जना घाइते भएका छन् । उनीहरूलाई नजिकैको अस्पताल तथा स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको उद्धार अधिकारी रिज्की द्वियान्तोले जानकारी दिए ।

उहाँका अनुसार बेपत्ताहरूको खोजीका लागि उद्धार टोली परिचालन गरिएको छ । उद्धार कार्यमा संलग्न कर्मचारीको सुरक्षालाई प्राथमिकता दिँदै खोजी तीव्र पारिएको उनले बताए ।

आगलागीबाट कारखानाको ठूलो भाग ध्वस्त भएको छ । भवनको छाना केही स्थानमा भत्किएको छ भने घटनास्थलबाट अझै धुवाँ निस्किरहेको दृश्य सार्वजनिक भएका छन् ।

स्थानीय अग्नि नियन्त्रण अधिकारी टुबागुस मचफुज्दका अनुसार शनिबार अपराह्न ४ः३० बजे आगलागीको सूचना प्राप्त भएको थियो । दमकल घटनास्थल पुग्दा भवनको ठूलो भाग आगोको चपेटामा परिसकेको थियो ।

बान्तेन प्रान्तका गभर्नर आन्द्रा सोनीले आगलागी हुँदा कारखानाभित्र करिब ६० जना रहेको अनुमान गरिएको बताएको छ ।आगलागीको कारणबारे अनुसन्धान भइरहेको स्थानीय विपद् व्यवस्थापन निकायले जनाएको छ।

इन्डोनेसियामा औद्योगिक तथा भवनमा हुने आगलागीका घटना यसअघि पनि भएका छन्। गत वर्ष डिसेम्बरमा जकार्ताको साततले भवनमा आगलागी हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको थियो। सन् २०२३ मा निकेल प्रशोधन कारखानामा भएको विस्फोटमा १३ जनाको ज्यान गएको थियो।