कोलम्बियाको कार्टाजेना सहरस्थित एक सुपरमार्केटमा हतियारधारी समूहले २० जनालाई बन्धक बनाएको छ । समाचार संस्था रोयटर्सका अनुसार आक्रमणकारीहरूले मंगलबार बिहान करिब ८ बजे नगद बोकेको बख्तरबन्द गाडी लुट्ने प्रयास गरेका थिए ।
सुरक्षा क्यामेराबाट निगरानी गरिरहेका कर्मचारीले प्यानिक बटन थिचेर प्रहरीलाई खबर गरेपछि सुरक्षाकर्मी घटनास्थल पुगेका थिए । प्रहरी देखेपछि आक्रमणकारीहरू सुपरमार्केटभित्र पसेर त्यहाँ रहेका मानिसहरूलाई बन्धक बनाएका थिए ।
आक्रमणकारीहरूले २० लाख अमेरिकी डलर, दुईवटा बख्तरबन्द गाडी र सुरक्षित निकासको व्यवस्था गर्न माग गरेका छन् । उनीहरू कार्टाजेनाबाट करिब १३० किलोमिटर टाढा रहेको ब्यारेन्क्विला सहर जान चाहेको बताइएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियो तथा तस्बिरमा अनुहार छोपेका र हतियार बोकेका आक्रमणकारी सुपरमार्केटभित्र देखिन्छन् । केही तस्बिरमा बन्धक बनाइएका मानिसका हात बाँधिएको र उनीहरूलाई कुर्सीमा बसाइएको वा भुइँमा घुँडा टेकाइएको देखिन्छ । आक्रमणकारीहरू उनीहरूको पछाडि हतियारसहित पहरा दिइरहेका छन् ।
कोलम्बियाका राष्ट्रपति अबेलार्डो डे ला एस्प्रिएलाले सुरुमा ३० जना बन्धक बनाइएको जानकारी दिएका भए पनि तीमध्ये पाँच वृद्ध महिलासहित १० जनालाई मुक्त गरिएको छ । बाँकी बन्धकको सकुशल उद्धारका लागि प्रहरी, सेना र विशेष सुरक्षा टोली परिचालन गरिएको छ ।
रोयटर्सका अनुसार प्रहरीले सुपरमार्केट र आसपासको क्षेत्र घेराबन्दी गरेको छ । नजिकैका भवनका छतमा समेत स्नाइपर तैनाथ गरिएको छ ।
आक्रमणकारीलाई पक्राउ गर्न सञ्चालन गरिएको सुरक्षा अभियानका कारण राफेल नुनेज विमानस्थलमा ४५ मिनेटसम्म विमान अवतरण रोकिएको थियो ।
सुपरमार्केट सञ्चालक कम्पनी ग्रुपो एक्सिटोले विज्ञप्ति जारी गर्दै मानिसको जीवन र सुरक्षा आफ्नो पहिलो प्राथमिकता रहेको जनाएको छ । घटनालाई सरकारी निकायहरूले सम्हालिरहेको र आफूहरूले उनीहरूको निर्देशन पालना गरिरहेको कम्पनीले बताएको छ ।
















