श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार भएको भेटमा उनीहरुबीच दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
मन्त्री श्रेष्ठले सन् २०२० देखि नवीकरणको प्रकृयामा रहेको रोजगार अनुमति प्रणालीसम्बन्धी द्विपक्षीय समझदारीलाई छिट्टै टुङ्गोमा पुर्याउन राजदूत पार्कसँग आग्रह गरेका थिए । राजदूत पार्कले ईपीएससम्बन्धी सम्झौतापत्र चाँडो नवीकरण गर्न आवश्यक तयारी गर्ने बताए । सन् २००७ मा नेपाल र दक्षिण कोरिया सरकारबीच भएको रोजगार अनुमति प्रणालीसम्बन्धी द्विपक्षीय समझदारी पछिल्लो पटक सन् २०१८ मा नवीकरण भएको र तत्पश्चाच २०२० देखि नवीकरणको प्रकृयामा रहेको छ ।
मन्त्री श्रेष्ठले कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेका १० हजार नेपाली कोरिया जाने प्रकृयामा रहेकोले उनीहरुलाई छिटो लैजाने व्यवस्था गर्न आग्रह गरे । उनले रोजगार अनुमति प्रणालीअन्तर्गत नेपालले पाउने कोटा बढाउन पनि आग्रह गरे । दक्षिण कोरियाले सन् २००८ देखि कोटा छुट्ट्याएर नेपाली कामदार लैजाँदै आएको छ । ईपिएस प्रणालीअन्तर्गत १६ देशका विदेशीहरु रोजगारीका लागि कोरियाली भाषा परीक्षा दिई कोरियामा श्रम गर्दछन् । राजदूत पार्कले ईपीएसअन्तर्गत नेपाली कामदारको सङ्ख्या बढाउन दक्षिण कोरिया सरकार सकारात्मक रहेको बताए ।
सन् २०१८ मा ईपीएसअन्तर्गत भाषा परीक्षा उत्तीर्ण गरेका दुई हजार जना नेपाली रोष्टरमा रहने म्याद सकिएकोले प्रकृयामा सहभागी हुन नपाएको भन्दै मन्त्री श्रेष्ठले म्याद थप गरी प्रकृयामा सहभागी गराउन आग्रह गरे । मन्त्री श्रेष्ठले ईपिएस अन्तर्गत दक्षिण कोरिया रोजगारीमा जानेहरुका लागि भाषा परीक्षा आगामी मे ३० बाट सुरु गर्ने मन्त्रालयको तयारी रहेको बताए ।
सो अवसरमा मन्त्री श्रेष्ठले दक्षिण कोरियामा प्राप्त हुन सक्ने मौसमी कामदारको अवसरबारे पनि राजदुतसँग चासो राखेका थिए । मन्त्री श्रेष्ठले अहिले वैदेशिक रोजगार व्यवस्थापनको कार्यक्षेत्र संघीय सरकारमा मात्र निहित रहेकोले मौसमी कामदारको रुपमा रोजगारी दिन स्थानीय सरकारलाई जिम्मेवार बनाउन खोजिएको बिषयमा नीतिगत स्पष्टता कायम गर्दै अघि बढ्न नेपाल सरकार तयार रहेको बताए । मन्त्री श्रेष्ठले नेपाल सरकारको नीति अनुसार मौसमी कामदारको रुपमा जाने व्यक्तिहरु ‘एम्प्लोई पे पोलिसी’ अवलम्वन हुने गरी दक्षिण कोरिया जाउन् भन्ने अपेक्षा गरिएको बताए।
कोरियामा ६५ हजारभन्दा बढी नेपाली ईपिएसअन्तर्गत प्रत्यक्ष रोजगारी गरिरहेका छन् । राजदूत पार्कले नेपालीहरु मेहनती र इमान्दार भएकाले कोरियाका रोजगारदाताको रोजाइमा पर्दै आएको बताएका छन् ।














