राष्ट्रपति निर्वाचन : सत्ता गठबन्धन फुटाउने प्रयासमा कांग्रेस

काठमाडौं –  प्रमुख सत्ता साझेदार दलका शीर्ष नेताबीच राष्ट्रपतिको निर्वाचनबारे छलफल चलिरहँदा नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष सहयोगका लागि औपचारिक रूपमै प्रस्ताव गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार राति प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेका कांग्रेस सभापति देउवासहित शीर्ष नेताहरूले राष्ट्रपति पदमा आफ्ना उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेका हुन्। प्रधानमन्त्रीलाई भेट्न सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगनकुमार थापा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला बालुवाटार पुगेका हुन्। महामन्त्री थापाले प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रपति पदको निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भएको जानकारी दिए।

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच राष्ट्रपति पदको निर्वाचनका सन्दर्भमा सरकार गठनलगत्तैदेखि पटक पटक छलफल भइसकेको छ। उनीहरूबीच सहमति कायम गर्नेगरी छलफल चलिरहँदा प्रमुख प्रतिपक्षी दल कांग्रेसले पनि राष्ट्रपति पदका लागि आफ्ना उम्मेदवारलाई सहयोग गरिदिन प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेको हो।

बैठकमा सहभागी कांग्रेसका एक नेताका अनुसार प्रधानमन्त्री प्रचण्डले यस विषयमा पार्टीको पदाधिकारी बैठकमा छलफल गर्ने बताएका छन्। ‘प्रधानमन्त्रीज्यूबाट सकारात्मक जवाफ आएको छ। उहाँले पार्टीभित्र परामर्श गरेर निर्णयमा पुग्ने बताउनुभयो’, उनले भने, ‘माओवादी केन्द्रबाट सकारात्मक निर्णय आउनेमा हामी विश्वस्त छौँ।’

यस्तै आइतबार विराटनगर पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले फेरि एकपटक एमालेकै उम्मेदवार राष्ट्रपति निर्वाचित हुने दाबी सुनाए। एमालेले उठाएको उम्मेदवारलाई माओवादीले भोट हाल्दैन भन्ने परिकल्पना नै गर्न नसकिने भन्दै उनले फागुन १३ गते उम्मेदवार सार्वजनिक गर्ने बताएका छन्।

अहिलेको समीकरण जन्मँदै राष्ट्रपति नेकपा एमालेको हुने भनेर लेखिएको उल्लेख गर्दै उनले राष्ट्रपति निर्वचनलाई लिएरसत्ता समीकरण नबदलिने जिकिर गरेका छन्।

ओलीले विराटनगरमा गरेको दाबी सुर्खेतमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले पनि सुनाए। संविधानको संरक्षक र कार्यान्वयनको जिम्मेवारीका नेपाली कांग्रेसबाट राष्ट्रपति बन्नुपर्ने उनको तर्क छ।

सुर्खेतमा आयोजित एक कार्यक्रममा महामन्त्री शर्माले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनपछि शीतलनिवासमा कांग्रेसकै नेतृत्व देखिने दाबी गरे। राष्ट्रपति निर्वाचनमा पुरानै गठबन्धनबीच तालमेल हुने बताउँदै उनले पुस १० गतेको समीकरण भत्किने संकेत पनि गरेका छन्। गठबन्धन ब्युउँताउन आवश्यक परेको अवस्थामा पुष्पकमल दाहाललाई नै पाँच वर्ष पूर्ण कार्यकाल प्रधानमन्त्री दिन सकिने बताए।

तर नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले पनि आज राष्ट्रपति साझा व्यक्ति र राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन्।

पोखरामा आयोजित पत्रकार सम्मेलनमा महासचिव गुरुङले पक्ष र विपक्ष नभन्ने संस्थामा साझा व्यक्ति र राष्ट्रिय सहमति हुनुपर्नेमा जोड दिएका हुन्।

सत्ता र विपक्ष भन्ने परिकल्पना नगरिएको ठाउँमा सहमति हुन नसक्ने कारण नहुनुपर्ने उनको तर्क छ। पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा सत्ता र विपक्ष नभनी विश्वासको मत प्राप्त भए जस्तै राष्ट्रपतिमा पनि राष्ट्रिय सहमति आवश्यक भएको औंल्याएका छन्। संविधान र गणतन्त्रको रक्षा गर्ने तथा परिवर्तनलाई आत्मसात गर्ने व्यक्ति मात्रै राष्ट्रपति हुनुपर्नेमा उनको जोड छ।